सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै भने, “हामीले अझै धेरै राहत सामग्री पुर्याउने काम गर्न आवश्यक छ र संयुक्त राज्य अमेरिकाले यसमा अग्रसरता लिनेछ ।”
“आगामी दिनमा हामी जोर्डनमा रहेका हाम्रा साथीहरु र अन्य सहयोगीसँग मिलेर हवाई मार्गबाट थप खाद्यान्न र आपूर्तिको व्यवस्थापन गर्नेछौं,” ८१ वर्षीय बाइडेनले भने ।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा मानवीय सङ्कट उत्पन्न भएको र इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी रहेका बेला यो घोषणा गरिएको हो ।
बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन् । उनले प्रमुख अमेरिकी सहयोगीको लागि सैन्य सहायता कायम राखेका छन् ।
उनले मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा छ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने आशा व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी दिएको उत्तरी गाजामा सहायता लिएर गएका गाडीको वरपर पुगेका दर्जनौँ निराश प्यालेस्टिनीको मृत्यु भएको बिहीबारको घटनापछि युद्धविराम वार्ता जटिल बनेको छ ।
एक इजरायली स्रोतले भीडमाथि सेनाले गोली चलाएको स्वीकारेको छ र यसले ‘खतरा उत्पन्न गरेको’ बताएको गरेको छ ।
निर्दोष मानिसहरू भयानक युद्धमा फसेका आफ्नो परिवारको पेट पाल्न नसकिरहेका र सहायताका लागि भेला भएका प्यालेष्टिनीको ज्यानसम्म जाने स्थिति दुःखद भएको बाइडेनले बताए ।
अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप सहायता ट्रकहरू भित्राउन ‘जोड’ दिने र गाजामा ठूलो मात्रामा सहायता पु¥याउन सम्भावित ‘समुद्री करिडोर’ को बारेमा पनि विचार गर्ने बताएका छन् ।
बाइडेनले केही समयदेखि हवाई मार्गबाट सहायता पु¥याउनेबारे योजना बनाइरहेको तर बिहीबारको घटनाले राष्ट्रपतिलाई सहायता प्राप्त गर्ने अन्य उपायको खोजी गर्नुपर्ने आवश्यकताबारे थप चिन्तित बनाएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् ।
किर्बीले भने, “संयुक्त राज्य अमेरिकाले धेरै एयर ड्रपहरू गर्ने योजना बनाएको छ जुन हप्तौंसम्म चल्नेछ ।”
तर यो एक ‘कठिन सैन्य अभियान’ पनि हो जसमा गाजाका नागरिक र अमेरिकी सैन्य अधिकारीको सुरक्षाको लागि पेन्टागनले सावधानीपूर्वक योजना बनाउनु आवश्यक छ । किर्बीले भने, “गाजाजस्तो भीडभाड हुने वातावरणमा एयरड्रप गर्न निकै गाह्रो छ ।”
संयुक्त राज्य अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्यो।
उनले भने, “यो युद्धक्षेत्र हो । अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्यो । त्यसैले विमानमा पाइलटका लागि थप सम्भावित खतराको व्यवस्थापन गर्नु जरूरी छ ।” इजरायलले पनि सहायता बोकेर गाजा पुगेका गाडी र सहयोग प्राप्त गर्नका लागि भेला भएका प्यालेष्टिनीको मृत्युबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको किर्बीले बताएका छन् ।
किर्बीले गाजामा बढ्दो मानवीय विपत्तिका बावजुद वासिङ्टनले इजरायललाई दिँदै आएको सैन्य सहयोग नरोक्ने बताए । उनले भने, “हामी अझै पनि इजरायललाई यसको सुरक्षाका लागि सहयोग गरिरहेका छौं ।”



