काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ४ लाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा १३ प्रतिशतले कम हो ।
रोजगारीका लागि फागुन महिनामा मात्रै साढे ६५ हजार नेपाली विदेशिएका छन् । विभागका अनुसार फागुनमा ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् । फागुनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेमा ६ हजार ७ सय ६८ महिला छन् भने बाँकी पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । बितेको आठ महिनामा यूएईका लागि एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।
यूएईपछि दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै रेमिट्यान्स पनि बढेकोे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।


