काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ५ अर्ब रुपैयाँ भन्दा बढीको अलैंची निर्यात भएको छ । भन्सार विभागको फागुनसम्मको आयात निर्यातको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा ३५ लाख ४५ हजार ४८० किलो अलैंची ५ अर्ब १७ करोड ४५ लाख ७० हजार रुपैयाँमा अन्य देश निर्यात गरिएको हो ।
यी हुन् नेपालबाट धेरै निर्यात भएका ६ वस्तुहरु
चालु आर्थिक वर्षको फागुनसम्ममा १ खर्ब ६१ लाखको वस्तु निर्यात भएको छ । जसमध्ये नेपालबाट धेरै निर्यात भएका प्रमुख वस्तुको पहिलो स्थानमा गलैंचा छ । ६ अर्ब ९२ करोड रुपैयाँमा २ लाख ७६ हजार ९३७ वर्ग मिटर गलैंचा नेपालबाट निर्यात भएको छ । त्यस्तै, धरै निर्यात हुने वस्तुको दोस्रो स्थानमा अलैंची रहेको छ । फागुनसम्ममा ५ अर्ब १७ करोड रुपैयाँमा ३५ लाख ४५ हजार किलो अलैंची निर्यात भएको तथ्यांकमा छ ।
निर्यातको तेस्रो हिस्सा जस्तापाताको रहेको छ । सो अवधिमा ४ अर्ब ८३ करोड रुपैयाँमा ३ करोड ७७ लाख किलो जस्तापाता निर्यात भएको तथ्यांकमा उल्लेख छ । नेपालबाट हुने निर्यातको चौथो ठूलो हिस्सा प्रशोधित पाम तेलको छ । सो अवधिमा ४ अर्ब ७ करोड मूल्य बराबरको ८ करोड २४ लाख २४ हजार लिटिर पाम तेल नेपालबाट निर्यात भएको थियो ।
नेपालबाट आव २०८०/८१ को फागुनसम्ममा पाचौं ठूलो निर्यात कच्चा फलफूलको जुसको छ । सो अवधिमा नेपालबाट ३ अर्ब ७७ करोड रुपैयाँको जुस निर्यात भएको छ । त्यस्तै, छैठौं स्थानमा प्रशोधित फलाम छ । सो अवधिमा ३ अर्ब ११ करोड रुपैयाँ बराबरको फलाम निर्यात भएको तथ्यांकमा जनाइएको छ ।


