images
images

भारतले अनिश्चितकालका लागि लम्ब्यायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध, नेपालमा कस्तो प्रभाव पर्छ ?


  • 682
    SHARES
  • २०८० चैत्र १२ गते सोमबार

    भारतले अनिश्चितकालका लागि लम्ब्यायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध, नेपालमा कस्तो प्रभाव पर्छ ?

    काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यसअघि मार्च ३१ मा हटाउने भनिएको प्रतिबन्ध तत्काल खुला नगर्ने भएको हो । 

    भारतले गत डिसेम्बर ८ देखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध यसै मार्च ३१ देखि हटाउने भनिएको भएतापनि भारत सरकारले शुक्रबार सूचना जारी गर्दै प्रतिबन्ध अनिश्चित कालका लागि लम्ब्याएको हो । 

    तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ ।

    नेपालमा कस्तो प्रभाव पर्छ ?

    नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । यी क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुन्छ । यसबाट करिब ३ लाख टन उत्पादन हुन्छ । तर त्यति प्याजले नेपाली भान्साको माग धान्न सम्भव हुँदैन । हाल करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाट नै आयात हुने गरेको छ ।

    भारतले डिसेम्बर ८ मा प्याज निर्यातमा प्रतिबन्ध लगाएको केही दिनमा नै नेपाली बजारमा प्याजको मूल्य दोब्बरले बढेको थियो । त्यसपछि पनि मूल्य निरन्तर बढेपछि कृत्रिम अभाव सिर्जना गर्न कालोबजारी भएको आशंकामा चीनबाट प्याज आयात गरिएको थियो । चीनबाट आयात भएको एक सातामै नेपाली बजारमा प्याजको मूल्य एक चौथाई भन्दा धेरैले घटेको थियो । चीन पनि प्याज निर्यातका लागि विकल्पका रुपमा रहेको हुँदा भारतले लम्ब्याएको प्रतिबन्धका कारण खासै असर भने नपर्ने देखिन्छ । 

    भारतले लगाएको प्रतिबन्धकै बीचमा पनि भारतबाट अनौपचारीक तबरबाट निरन्तर रुपमा प्याज आयात भइरहेको थियो । त्यसै कारणले पनि भारतको प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्धले नेपाली भान्सामा खासै असर नगर्ने देखिन्छ । 

    भारतले शुक्रबार ‘अनिश्चितकाल’ का लागि प्रतिबन्ध थप्नुअघि नेपालमा प्याजको औसत थोक मूल्य ७३ रुपैयाँ थियो । शनिबार झिनो वृद्धि भइ प्याजको मूल्य ७३.५० रुपैयाँ पुगेको थियो । आइतबार थोरै बढेर ७३.६७ रुपैयाँ पुगेको प्याजको मूल्य आज घटेर  ७२.८० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले जनाएको छ । 

    समितिको उक्त तथ्यांकबाट पनि भारतले प्याजमा लगाएको अनिश्चितकालीन प्रतिबन्धले नेपाली भान्सामा खासै असर नपरेको र नपर्ने प्रष्ट हुन्छ ।


    images

    Logo