काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा विद्युतिय चुलो (इन्डक्सन) को आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा ८.३ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष २०७९/८० मा १ लाख ३० हजार ७४५ इन्डक्सन चुलो भित्रिएका थिए । गत आर्थिक वर्षमा उक्त संख्यामा ८ प्रतिशतले गिरावट आएर १ लाख २० हजार ७१६ मा सिमित रहेको छ । त्यसअघि, आर्थिक वर्ष २०७८/७९ मा १ लाख १६ हजार ८१० वटा इन्डक्सन चुलो भित्रिएको विभागको तथ्यांकमा जनाइएको छ ।

इन्डक्सन चुलोको आयात घट्दा ग्यासको खपत भने बढेको छ । आर्थिक वर्ष २०७९/८० मा ५१ करोड ४३ लाख किलो ग्यास आयात भएको थियो । गत आर्थिक वर्षमा उक्त परिमाणमा वृद्धि भएर ५२ करोड ४२ लाख किलो पुगेको थियो । त्यसअघि, आर्थिक वर्ष २०७८/७९ मा ५३ करोड ५८ लाख किलो ग्यास नेपाल आयात भएको थियो ।

तीन वर्षको तथ्यांकलाई हेर्दा इन्डक्सन चुलोको आयात बढ्दा ग्यासको आयात घटेको र इन्डक्सनको आयात घट्दा ग्यासको आयात बढेको देखिएको छ ।


