काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा धानचामलको आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार आव २०८०/८१ मा धानचामलको आयात ४० प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षमा १२ अर्ब ९४ करोड १० लाख रुपैयाँको ३१ करोड ९० लाख केजी धान र नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार केजी चामल गरि कुल २२ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ । आव २०७९/८० मा ३६ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएको थियो ।
२०७९/८० मा १९ अर्ब १९ करोड रुपैयाँ बराबरको ५५ करोड ५८ लाख केजी धान र १५ अर्ब ९१ करोड रुपैयाँको २३ करोड ३९ लाख केजी चामल आयात भएको थियो ।
भारत सरकारले गत आर्थिक वर्षकाे २३ भदौमा नेपाल लगायतका देशले भारतबाट धानचामल आयात गर्दा २० प्रतिशत अतिरिक्त भन्सार शुल्क लाग्ने घाेषणा गरेकाे थियाे । पछि १४ कात्तिकमा पुन: सूचना जारी गर्दै भारतले शूल्क कट्टा गरिएकाे जनाएकाे थियाे । तर, नेपालमा चामलकाे धेरै खपत हुने समय अर्थात दशैं तिहारकाे समयमा नै निर्यातमा शुल्क लगाइएपछि धानचामलकाे आयात घटेकाे हाे ।
गत आर्थिक वर्षमा ४५ अर्ब ७० करोड ७४ लाख ७५ हजार रुपैयाँको कुल खाद्यान्न (चामल, धान, मकै, जौ, गहुँ र कोदो) आयात भएको छ । आव २०७९/८० मा ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो ।
धानमा आयात गर्दा व्यवसायीले २० प्रतिशत भन्सार शुल्क पाँच प्रतिशत कृषि सेवा शुल्क तिर्नु पर्छ । आयातमा कडाइ गरेसँगै गैरकानुनी ढङ्गले खाद्यान्न आयात हुँदा राजस्व सङ्कलनमा कमी आउने गरेको छ ।


