काठमाडौं । श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा अलपत्र परेका छन् । विश्वविद्यालयमा पढ्ने र रोजगारीबाट पैसा कमाउने उद्देश्य लिएर रुस पसेका उनीहरु पढाइमा समय खर्चिन नसकेपछि अलपत्र परेका हुन् ।
पढ्नका लागि भनेर रुस गएकाे तर कक्षा नलिएपछि उनीहरूको भिसा पनि नवीकरण नभएका कारण अब न पढाइ न रोजगारीको अवस्थामा पुगेका छन् ।
१० लाख रुपैयाँसम्म लगानी गरेर रुस पुगेका ती विद्यार्थी भिसा थप्न दलालको सहारा लिँदा झनै ठगिएका छन् । ती विद्यार्थीबाट भिसा नवीकरण गर्ने भन्दै करिब ३ करोड ५० लाख रुपैयाँ उठाएर दलाल फरार छन् ।
पीडितका अनुसार प्रतिविद्यार्थी १ लाख ६० हजार रुवेल (करिब २ लाख ३५ हजार रुपैयाँ) सम्म उठाइएको छ ।
हाल नेपालले श्रमका लागि रुस जान निषेध गरेकाे छ । तर पनि राेजगारीका लागि नै भनेर युवाहरु विद्यार्थी भिसामा रुस गइरहेका छन् । पैसा कमाउनका लागि रुस गएका उनीहरु पढ्ने खर्चसमेत धान्न नसक्ने अवस्था पुगेर सेनमा भर्ती हुन बाध्य भएका छन् ।


