काठमाडौं । सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
चाडपर्वका बेला व्यापारीले बजारमा मनपरीरुपमा भाउ नबढाउन् भनेर सरकारले सहुलियत पसल सञ्चालन गर्दै आएको छ । अघिल्ला वर्षजस्तै यसपालि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संथानले सहुलियत पसल सञ्चालन गर्नेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म छुट सहितको सहुलियत पसल सञ्चालन गर्ने छ । कम्पनीले सहुलियत पसलमा खाद्यनमा प्रति केजी ७ रुपैयाँसम्म र खसीबोकामा प्रति केजी १० रुपैयाँ छुट दिने निर्णय भएको जानकारी दिएकाे छ । त्यस्तै, ग्राहकले दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट पाउनेछन् ।
कम्पनीले देशका विभिन्न स्थानमा ६१ वटा सहुलियत पसल सञ्चालन गर्नेछ ।
कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म करिब ५० क्विन्टल खाद्यान बिक्री गर्ने लक्ष्य राखेको छ। यसपालिको दसैंमा कम्पनीले १५ सय खसीबोका र ३०० वटा च्याङ्गा बिक्रीमा राख्ने भएको छ । पोहोर खसीबोका बेच्न निक्के गाह्रव भएपछि कम्पनीले यसपालि संख्या घटाउन लागेको हो ।
कुन खाद्यान्नमा कति छुट ?
ग्राहकले सबै प्रकारका चामलमा प्रति केजी ५ रुपैयाँ छुट पाउनेछन् । कर्णालीको रैथाने चामलमा ७ रुपैयाँ छुट हुनेछ । तेलमा प्रति लिटर ७ रुपैयाँ, दालमा प्रति किलो ५ रुपैयाँ, कर्णालीको दाल र सिमीमा प्रति केजी ७ रुपैयाँ ,गेडागुडीमा प्रति केजी ७ रुपैयाँ र घिउमा प्रति केजी ७ रुपैयाँ छुट दिने निर्णय भएको छ ।
यस्तै उपभोक्ताले चिनीमा ५ रुपैयाँ छुट पाउनेछन् । गत वर्ष साल्ट ट्रेडिङसँग पर्याप्त चिनी नभएको कारण देखाएर ग्राहकलाई छुट दिइएको थिएन ।
चाडपर्व लक्षित सहुलियत पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।


