काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष १५ खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष १५ खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने भएको हो ।
खाद्यले अघिल्लो वर्ष ३ हजार बढी खसीबोका ल्याएपनि बिक्री कम भएको र धेरै मरेर नोक्सान भएपनि यसपटक कम्पनीले खसीबोकाको संख्या घटाउन लागेको हो । गत साल धेरै खसीबोका मौसमसँग मिल्न नसक्दा मरेका थिए भने बिक्री नभएका खसीबोका तथा च्याङ्ग्रा खाद्यले पालेको खोरमा नै भुसिया कुकुर छिरेर मारेको थियो । जसबाट कम्पनीलाई करोडौं रुपैयाँ घाटा लाग्न पुगेको थियो । सोही कारण यसपटक कम मात्रै खसीबोका र च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
खसीबोका खरिदका लागि कम्पनीले यस वर्ष ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष करिब ४ हजार खसीबोका तथा च्याङ्ग्रा खरिद तथा ढुवानीका लागि कम्पनीले ३३ करोड रुपैयाँमाथिको बजेट छुट्याएको थियो ।
गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीले खसीबोका नेपालको मध्य तथा पश्चितम क्षेत्रको हेटौंडा, दाङ, तुल्सिपुर बाट ल्याउन तयारी गरेको छ भने सदाझैं च्याङ्ग्रा भने माथिल्लो डोल्पा तथा मुस्ताङबाट ल्याउने तयारी गरेको छ । जसका लागि सार्वजनिक टेन्डर आह्वानको तयारीमा कम्पनी रहेको छ ।


