काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय पर्यटकलाई सन् २०२२ सम्म प्रवेश नदिने भएको छ । मंगलवार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त अभिव्यक्ति दिएका हुन् ।
'अन्तर्राष्ट्रिय पर्यटकहरुलाई अर्को वर्षसम्म अष्ट्रेलियामा स्वागत गरिने छैन, कुशल आप्रवासीहरु र बिद्यार्थीहरु लाई उच्च प्राथमिकता दिईन्छ', मोरिसनले भने ।
'दोहोरो खोप लगाएका कुशल आप्रवासी मुख्य प्राथमिकता हुन् जो देशको लागि धेरै महत्वपूर्ण छन् । साथै अष्ट्रेलियामा आफ्नो अध्ययनको लागी आउने वा छुट्टिपश्चात फर्किने विद्यार्थीहरु अर्को प्राथमिकता हुन्', मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, 'अन्तर्राष्ट्रिय पर्यटकले भने अर्को वर्ष ( सन् २०२२) वाट मात्र अवसर पाउने छन्'।
गत हप्ता उनले खोप लगाएका नागरीक र स्थायी बासिन्दाहरुलाई नोभेम्बर बाट विदेश उडान गर्न अनुमति दिने योजना वनाएका थिए । कोरोना महामारीका कारण अघिल्लो वर्षको मार्चवाट बन्द गरिएको अन्तराष्ट्रिय उडान सेवा पहिलोपटक नोभेम्वरबाट खोल्ने उनको योजना थियो । यद्यपी, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय पर्यटकलाई २०२२ सम्म प्रवेश नदिने भएको मोरसनले बताए । उनका अनुसार अष्ट्रेलियन नागरीक पछि अन्तर्राष्ट्रिय विद्यार्थी र कुशल आप्रवासीलाई अन्तर्राष्ट्रिय पर्यटक भन्दा अघि उच्च प्राथामिकता दिइने छ ।
मोरिसनका अनुसार अष्ट्रेलियाले मंगलवारसम्म १६ वर्ष र माथिका गरी कूल जनसंख्याको ८० प्रतिशतलाई दोस्रो डोज खोप दिने र खोपको उक्त मापदण्ड पूरा गरी देश खुल्ला गर्ने अपेक्षा गरेको थियो ।
महामारी प्रतिबन्धको कारण दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाली आप्रवासनकाे रेकर्ड अहिले सबैभन्दा कम रहेको छ । अष्ट्रेलियाको विश्वविद्यालयहरु अन्तर्राष्ट्रिय विद्यार्थीहरुले तिर्ने शुल्कमा निर्भर छन् । महामारीका कारण गर्नुपरेकोे प्रतिवन्धले अष्ट्रेलियाको विश्वविद्यालयहरुमासमेत एक विनाशकारी प्रभाव पारेको छ । त्यस्तै अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सिमाना छिटै नखुलाउँदा विद्यार्थी अन्य देशमा भर्ना हुन्छन् कि भन्ने डरमा अष्ट्रेलियाको शिक्षा क्षेत्र परेको छ ।
अष्ट्रेलियन पर्यटन निर्यात परिषद, जसले महामारी अघि अन्तर्राष्ट्रिय पर्यटकहरुवाट एक वर्षमा ४५ मिलियन अष्ट्रेलियन डलर कमाएको थियो, मार्चवाट अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन चाहान्छ ।
सिड्नीबाट शुरु भई फैलिरहेको संक्रमक डेल्टा भाइरसबाट जनतालाई बचाउन अष्ट्रेलिया लागि परिरहेको छ ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा मंगलबार १ हजार ७ सय ६३ नयाँ स्थानीय संक्रमण देखिएको छ । यो अहिलेसम्मकै अष्ट्रेलियाको ठूलो राष्ट्रिय रेकर्ड हो । जनसंख्याको आधारमा दोस्रो ठूलो राज्यमा एकै दिन ४ जनाको कोरोनाका कारण मृत्यु समेत भएको छ । यस अघि सेप्टेम्वर १० मा साउथ वेल्समा चौविस घण्टाभित्र करिव १६ सय संक्रमित देखिएका थिए, जुन दोस्रो अष्ट्रेलियाको अहिलेसम्मको दोस्रो ठूलो राष्ट्रिय रेकर्ड थियो ।
न्यु साउथ वेल्स खोपदरमा अन्य राज्यहरु भन्दा अग्रपंतिमा छ र खोप लगाएका यात्रुहरुका लागि सिड्नीको बिमानस्थल सवैभन्दा पहिला खुल्ने अपेक्षा गरिएको छ।


