images
images

भारतले ‘कोटा सिस्टम’ हटाउँदा पनि ५० प्रतिशतले घट्यो नेपालमा धानचामल आयात


  • 446
    SHARES
  • २०८१ भाद्र २५ गते मंगलबार

    भारतले ‘कोटा सिस्टम’ हटाउँदा पनि ५० प्रतिशतले घट्यो नेपालमा धानचामल आयात

    काठमाडौं । चालू आर्थिक वर्षको साउन महिनामा धानचामलको आयात आधा भन्दा धेरैले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो अवस्था देखिएको हो । 

    गत आर्थिक वर्षको पहिलो महिनामा ४ अर्ब २६ करोड रुपैयाँ बराबर रकमको धानचामल नेपालले आयात गरेको थियो । यस आर्थिक वर्षको साउनमा उक्त परिमाणमा ५०.३८ प्रतिशतले गिरावट आएको छ । चालू आर्थिक वर्षको साउन महिनामा २ अर्ब ११ करोड रुपैयाा बराबर रकमको मात्र धानचामल नेपाल भित्रिएको तथ्यांकमा जनाइएको छ । 

    धानचामलको आयातमा कमी आएसँगै राजस्व संकलनमा पनि ३९ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको साउनमा धानचामल आयात गर्दा सरकारले ३१ करोड ८ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो । उक्त रकम यसपटक घटेर १८ करोड ८९ लाख रुपैयाामा सिमित भएको तथ्यांकमा उल्लेख छ । 

    चालू आर्थिक वर्षको साउनमा नेपाल भित्रिने धानको परिमाण नै आधा भन्दा धेरैले घटेको छ । गत साउनमा २ अर्ब ७७ करोड रुपैयाँ बराबरको धान नेपाल भित्रिएको थियो । उक्त परिमाण यसपटक ६२.५८ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँ मात्र रहेको तथ्यांकमा छ । 

    बास्मती चामलको आयात भने यसपटक बढेको देखिन्छ । गत साउनमा ५२ करोड ९ लाख रुपैयाँ बराबर रकमको बास्मती चामल नेपाल भित्रिएको थियो जुन यसपटक बढेर ६० करोड ९८ लाख रुपैयाँ पुगेको छ । 

    गत आर्थिक वर्ष भरको तथ्यांकमा नेपालमा हुने धानचामलको आयात ४० प्रतिशतले घटेको थियो । भारतले सो आर्थिक वर्षको २३ भदौमा नेपाल लगायतका देशले भारतबाट धानचामल आयात गर्दा २० प्रतिशत अतिरिक्त भन्सार शुल्क लाग्ने घोषणा गरेको थियो । पछि १४ कात्तिकमा पुनः सूचना जारी गर्दै भारतले शूल्क कट्टा गरिएको जनाएको थियो । तर, नेपालमा चामलको धेरै खपत हुने समय अर्थात दशैं तिहारको समयमा नै निर्यातमा शुल्क लगाइएपछि धानचामलको आयात घटेको भन्ने विश्लेषण गरिएको थियो । तर, यस साउनमा भने भारतले चामल निर्यात खुलाउँदा समेत नेपालमा आयात घटेको देखिएको छ । 

    यसमा नेपालमा नै धानको उत्पादन बढ्दा आयात घटेको हुनसक्ने सम्भावना रहन्छ । तर, तस्करी बढेर भन्सारमा नबुझाइ धानचामल भित्रिएको पनि हुनसक्ने सम्भावना भने प्रवल छ । भारतको सिमानजिकका जिल्लाहरुमा शसस्त्र प्रहरीले भन्सार नतिरि भित्रिएका सामानहरुमा चामल पनि बरामद गर्ने गरेको छ । 


    images

    Logo