images
images

४२ जिल्लाका ६३ स्थानमा आजदेखि खुल्यो सुपथ मूल्य पसल, केमा कति पाइन्छ छुट ?


  • 901
    SHARES
  • २०८१ आश्विन ३ गते बिहीबार

    ४२ जिल्लाका ६३ स्थानमा आजदेखि खुल्यो सुपथ मूल्य पसल, केमा कति पाइन्छ छुट ?

    काठमाडौं । सरकारले आजबाट चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ को लागि ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । 

    ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । पर्वलक्षित पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णय गत भदौ २३ गते भएको थियो । सोहीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । 

    सुपथ मूल्य पसल आगामी माघ २ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

    काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन्।  उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ ।

    उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनको सीमितताले सबै जिल्ला र पालिकामा पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतीपूर्ण भएको कम्पनीले जनाएको छ । 

    ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य, कुनमा कति छुट?

    सरकारले सुपथ मूल्य पसलमार्फत यस वर्ष ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ । 

    यसअनुसार विभिन्न खाद्यान्न बिक्री गरिनेछ भने उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्दा छुट पाउनेछन् । 

    कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ ।

    त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी/प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ । यसैगरी कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ ।

    कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ । 

    १५ सय खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने 

    सुपथ मूल्य पसलका लागि दसैँलाई लक्षित गरी कम्पनीले यस वर्ष १५०० वटा खसीबोका र ३ सय च्यांग्रा गरी १८ सयवटा खरिद गर्ने लक्ष्य राखेको छ । 

    मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यकाआसपास क्षेत्रहरुबाट यी खरिद गरिने कम्पनीले जनाएको छ ।

    खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथली काठमाडौं परिसरबाट घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बिक्री गरिनेछ । 


    images

    Logo