images
images

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र


  • 510
    SHARES
  • २०७८ आश्विन २१ गते बिहीबार

    चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

    काठमाडौं  । दसैँलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा  अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो । समितिले हेटौँडा उपमहानगरपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५ खाद्यान्न तथा किराना पसल, होटल, रेष्टुराँ र औषधि पसलको अनुगमन गरेको जनाएको छ ।

    ती मध्ये  ५७ खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई रु १५ हजार जरिवाना गरेको बताइएको छ । अन्य पसललाई प्रष्टरूपमा देख्ने गरी मूल्यसूची राख्न साथै ग्राहकलाई बिल दिन र भीडभाड नगरी कोरोनाबाट सुरक्षित रहन मापदण्ड पालना गर्न सुझाव समितिले दिएको थियो ।

    त्यसैगरी अनुगमनका क्रममा हेटौँडाको स्कुलरोडमा रहेको तीनवटा फेन्सी स्टोरलाई खाता आद्यवधिक नगरेको पाइएकाले रु २५ हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । समितिले दुई पसललाई जनही पाँच हजार रुपैयाँ र एउटा पसललाई  १५ हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए ।

    यसअघि अनुगमन समितिले हेटौँडा–१० मा रहेको गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा अनधिकृत व्यक्तिले औषधि बिक्री गरेकाले कारबाही गरेको थियो । सो समितिमा उपभोक्तावादी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको समेत सहभागिता थियो ।


    images

    Logo