काठमाडौं । थाई एयर एसियाले बैंकक–काठमाडौं नियमित उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो ३ः०० बजे काठमाडौँमा सो एयरको विमान यहाँ अवतरण गरेको थियो । उक्त विमान काठमाडौँबाट यात्रु लिएर आज साँझै बैङ्कक फर्किएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थाई एयर एसियाले नियमित उडान सुरु गरेको बताए । उनका अनुसार एयरले काठमाडौँमा सातामा चार उडान भर्नेछ । यसअघि नेपालका तीनसहित २९ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भरिरहेकामा थाई एयर एसिया थपिपछि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या ३० पुगेको छ ।
थाई एयर एयसियाले काठमाडौँमा चार र अर्को चार वटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट अनुमति पाएसँग अव भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नेछ ।
उक्त वायुसेवाले मलेसियाको क्वालालम्पुरबाट काठमाडौँमा छ वर्ष नियमित उडान गरेको थियो । एयर एसिया एक्स घाटामा गएपछि पाँच वर्षदेखि नेपालमा उडान बन्द भएको थियो ।
सो एयरका नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल एण्ड टुर्स रहेको छ । कम्पनीले बैङ्ककबाट भारत, हङ्कङ, चीन, कम्बोडिया, भियतनाम, इन्डोनेसिया, लावस, श्रीलङ्कालगायत एसियाली मुलुकमा उडान गर्दै आएको जनाएको छ ।


