images
images

तिहारमा काठमाडौं उपत्यकामा मात्रै २५ करोडको फलफूल खपत हुने अनुमान


  • 687
    SHARES
  • २०८१ कार्तिक १६ गते शुक्रबार

    तिहारमा काठमाडौं उपत्यकामा मात्रै २५ करोडको फलफूल खपत हुने अनुमान

    काठमाडौं । तिहारको समयमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड रूपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरिएको छ । नेपाल फलफुल थोक व्यवसायी संघ यस वर्षकाे तिहारमा उक्त मूल्य बराबरकाे फलफूल खपत हुने अनुमान गरेकाे हाे । 

    गत असोजमा आएको अविरल वर्षापछि बाढीपहिरो र नाकामा असहज हुँदा धेरै फलफूल बिग्रिएको र तिहारको लागि अर्डर गरेको फलफूल अझै आइनसकेकाले अघिल्ला तिहारको तुलनामा भने कम खपत हुने अनुमान गरिएको छ । यद्यपि देशभर करोडौं रुपैयाँको फलफूल बिक्री हुने अनुमान गरिएकाे छ । 

    अहिले बजारमा चीनबाट ल्याएको स्याउ अंगुर आँप हलुवावेद, भारतबाट सुन्तला, केरा, स्याउ, खर्बुजालगायत विभिन्न फलफूल आइरहेको संघले जनाएको छ । नेपालमै पनि पर्याप्त मात्रामा स्याउ र केरा उत्पादन भएको संघले जनाएको छ ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ३ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको फलफूल आयात भएको छ । साउन, भदौ र असोजमा सबैभन्दा बढी स्याउ आयात भएको छ । विभागका अनुसार २ अर्ब ९ करोड १४ लाख रुपैयाँको स्याउ चीन र भारतबाट आयात भएको छ ।

    चीनबाट मात्रै १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ र भारतबाट ५४ करोड ५२ लाख रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ ।

    कुल २२ करोड ६९ लाख रुपैयाँको अंगुर आयात हुँदा सबैभन्दा बढी भारत बाट २० करोड ४४ लाख रुपैयाँ आएको छ । बाँकी चीनबाट अंगुर आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार २२ करोड २७ लाख रूपैयाँको आँप, १७ करोड ८० लाख रूपैयाँको अम्बा, १२ करोड २१ लाख रूपैयाँको किवी र १२ करोड १३ लाख रूपैयाँको कागती आयात भएको छ ।

    नेपालम भारत, इजिप्ट र दक्षिण अफ्रिकाबाट सुन्तला आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १९ करोड ४० लाख रूपैयाँको सुन्तला आयात हुँदा भारतबाट ११ करोड ९१ लाख, इजिप्टबाट ४ करोड ६२ लाख र दक्षिण अफ्रिकाबाट २ करोड ८५ लाख रूपैयाँ बराबरको आयात भएको छ ।


    images

    Logo