काठमाडौं । रुसले एकैचोटि ५३ वटा भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । सोयुज-२.१ अन्तरिक्ष यानमा राखेर रुसको रसकसमस स्पेस केन्द्रले पृथ्वी वरिपरिको मौसम निरीक्षण गर्ने दुई ठूला र अन्य साना स्याटलाइट अन्तरिक्षमा पठाएको हो । पृथ्वीको अवलोकन, सञ्चार र वैज्ञानिक अध्ययनका लागि ती स्याटेलाइट अन्तरिक्षमा पठाइएको केन्द्रले जनाएको छ ।
रुसले मौसम बुझ्न दुईटा आयनोस्फेरा-एम स्याटेलाइट आयनमण्डलमा पठाएको छ ।आयनमण्डल भनेको पृथ्वीको सतहभन्दा ८० किलोमिटरदेखि ६४४ किमिमाथि वायुमण्डल र अन्तरिक्ष एकाकार हुने स्थान हो । आयनोस्फेरा-एम भूउपग्रहको तौल ४३० किलोग्राम रहेको र यिनले ८२० किमि उचाइमा पृथ्वीको कक्षमा परिक्रमा गर्ने जानकारी दिइएको छ ।
रुसी स्पेस केन्द्र रसकसमसले सन् २०२५ मा पनि आयनमणडलमा थप दुई यस्तै स्याटलाइट प्रक्षेपण गर्ने तयारी गरेको उल्लेख गरेको छ । यो साता पठाइएका ५३ वटा साना स्याटेलाइटमध्ये ‘कउसर’ र 'हडहड' नामक दुईटा स्याटलाइट इरानका हुन् । कउसरले उच्च रिजोलुसनका तस्बिर खिच्न सक्छ भने ‘हडहड’ स्याटलाइट सञ्चार सेवाका प्रयोग हुने बताइएको छ ।
यो प्रक्षेपणमा रुस र चिनियाँ विद्यार्थीले पहिलोपटक संयुक्त पहलमा तयार गरेको स्याटेलाइटसमेत समावेश छ । रुसले यसअघि फेब्रुअरिमा पनि इरानले बनाएको ‘पार्स-१’ नामक अनुसन्धानमूलक स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो । उक्त स्याटेलाइटले इरानको भूबनोट परीक्षण गर्ने इरानी सञ्चार माध्यमले जनाएका थिए ।
सन् २०२२ मा रुसले इरानी भूमि नियाल्ने भूउपग्रह अन्तरिक्षमा पुर्याउन आफ्नो यान प्रक्षेपण गरेको थियो । तेहरानको अनुरोधमा ती भूउपग्रह रुसमै निर्माण भएका थिए । अन्तरिक्षसम्बन्धी यस्ता कार्यक्रमले मस्को र तेहरानबीचको बढ्दो सहकार्य उजागर गरिरहेको रुसी स्पेस केन्द्रले अलजजिरासँग उल्लेख गरेको छ । युक्रेनी पक्षलाई आक्रमण गर्न तेहरानले मस्कोलाई ड्रोन उपलब्ध गराएको आरोप लागिरहेका बेला तेहरान र मस्कोबीच विभिन्न क्षेत्रमा सम्बन्ध विस्तारका खबर आइरहनुलाई भूराजनीतिमा अर्थपूर्ण रूपले हेरिएको छ ।
रुसी स्पेस केन्द्रका अनुसार रुसले यसपटक इरान र जिम्बावेका स्याटेलाइटसँगै राष्ट्रिय कीर्तिमानी कायम गर्नेगरी ५१ वटा घरेलु स्याटेलाइट अन्तरिक्षमा पठाएको छ । यसअघि सबैभन्दा धेरै स्याटलाइट सन् २०२१ को जनवरीमा अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्सले एकैपटक १४३ वटा स्याटेलाइट अन्तरिक्षमा पठाएर कीर्तिमानी रचेको थियो । स्पेस डटकमका अनुसार स्पेस एक्सले त्यो बेला आफ्नो शक्तीशाली फालकन ९ रकेटमा राखेर त्यतिविघ्न स्याटेलाइट अन्तरिक्षमा पुर्याएको थियो ।
यसपटकको प्रक्षेपण रुसले सन् २०२४ मा गरेको १३ औं पहल हो । एक दशकअघिसम्म अन्तरिक्षसम्बन्धी गतिविधिमा सबैभन्दा सक्रिय रहने रुस पछिल्लो समय यस्ता गतिविधिमा निकै सुस्ताएको छ । अहिले संयुक्त राज्य अमेरिका र विशेषगरी स्पेस एक्ससँगै चीनले अन्तरिक्ष कार्यक्रम अधिक मात्रामा सञ्चालन गर्दै आएका छन् । अन्तरिक्ष प्रक्षेपणको विश्वव्यापी सूचीमा रुस तेस्रो स्थानमा रहेको स्पेस डटकमले जनाएको छ ।
आजभन्दा ५० वर्षअघि नै चन्द्रमामा अन्तरिक्ष यान प्रक्षेपण गरेको रुसले वार्षिक करिब ३ देखि ४ अर्ब डलर अन्तरिक्ष परियोजनाका लागि छुट्याउने गरेको छ । सन् २०२३ मा अन्तरिक्षका लागि रुसले ३.४ अर्ब डलर बजेट विनियोजन गरेको स्टाटिस्टाको तथ्यांक छ । रुस-युक्रेन युद्धका कारण पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएकाले रुसले उन्नत पश्चिमा प्रविधिमा पहुँच प्राप्त गर्न सकेको छैन । यसले पनि रुसको अन्तरिक्ष कार्यक्रमहरूलाई अवरोध पुर्याइरहेको बताइन्छ ।


