काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ । यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको थियो । यस वर्षको तुलनामा आगामी वर्षका लागि कोरियाले कोटा घटाएको छ ।
सन् २०२५ मा कृषि, मत्स्यपालन, उद्योग, पानीजाहाज र निर्माण क्षेत्रमा २ लाख ७ हजार विदेशी कामदार भित्र्याउने निर्णय भएको कोरियन योनहाप समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियाले आगामी वर्षका लागि इ–९ रोजगार अनुमति भिसाअन्तर्गत कामदारको संख्या यस वर्षको तुलनामा ३.५ हजारले घटाएको बताएको छ ।
कोरियाले रोजगार अनुमति (ईपीएस) प्रणालीमार्फत इ–९ भिसामा १ लाख ३० जना लिने भएको हो । यो गत वर्षभन्दा ३.५ प्रतिशत कम हो । कोरियाले मौसमी कामदार भिसा ई–८ अन्तर्गत ७५ हजार कोटा छुट्याएको छ । माछा मार्ने कोरियन समुदायको जनसंख्याको कमीलाई ध्यानमा राख्दै ई–१० भिसाको संख्या बढाउने पनि कोरियाको तयारी छ । योसँगै पानीजहाजमा काम गर्ने र माछा मार्ने मरिनसम्बन्धी कामका लागि ई–१० भिसा कोरियाले दिँदै आएको छ । यस भिसाको निश्चित कोटा तोकिदैन् ।
कोरियाले विदेशी कामदारका लागि प्रदान गरिने भिसा विभिन्न वर्गमा बाँडिएको छ । तर कुन् देशलाई कति दिने भनेर खुलाइएको छैन । नेपालले गत वर्षको तुलनामा न्यून कोटा पाउने ईपीएस शाखाको अनुमान छ ।
आगामी वर्षदेखि कोरिया इपीएस परीक्षा फारम भर्दा नै कडाइ गर्ने भएको छ । कोरियाले आवश्यक संख्याको ३ गुणा मात्र आवदेन लिने घोषणा गरिसकेको छ । नेपालले २० हजार कोटा पायो भने ६० हजारले मात्र आवदेन दिन पाउने छन् ।


