काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्जमा १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै ७ अर्ब १७ करोड बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१(८२ को ६ महिनामा ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख बराबरको एफपीओ तथा ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब २४ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब बराबरको म्युचुअल फण्ड, ४५ करोड बराबरको साधारण सेयर र १२ करोड बराबरको डिबेन्चर गरी कुल १६ अर्ब ८१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
२०८१ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय २९ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् । यस्तै ९१ जलविद्युतकम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० पुसमा सूचीकृत कम्पनीहरुको संख्या २ सय ७१ रहेको थियो ।
सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत छ । यस्तै उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ पुस मसान्तमा सूचीकृत ८ अर्ब ६४ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५१ अर्ब ३७ करोड रहेको छ ।


