काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अंकले घटेर २ हजार ६ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता शेयर किनवेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ८ अर्ब ३९ करोडको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक १.२३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ४४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि होल्डिङ्गसको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको साढे १४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको हो । त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।


