काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । आइतबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८७ अंकले बढेर २ हजार ७ सय २७ दशमलव ९१ विन्दुमा पुगेको छ । यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से ७ दिनपछि पुनः २७०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि गत माघ २३ गते नेप्से २७०० विन्दुभन्दा माथि बन्द भएको थियो।
आज कारोबारमा आएका ३ सय २ स्क्रिपको ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको १ करोड ७८ लाख कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब ४७ करोडको शेयर कारोबार भएको थियो ।
सोमबार १ सय ५८ कम्पनीको शेयर मूल्य बढेको छ । ८२ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.२७ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।


