ब्लग ।
काठमाडौं । धेरै अघिदेखि चर्चा सुनेको थिएँ— बाराको सिमरौनगढ ! ११ सय वर्षअघिको शक्तिशाली दरबार, भिन्न कलाकृति, आफैंमा एउटा जीवित संग्रहालय । कस्तो होला भन्ने चरम जिज्ञासा थियो ।
तर, जाने मौका मिलिरहेको थिएन । यसपटक भने अकल्पनीय ढंगले त्यहाँको भ्रमण गर्ने अवसर जुर्यो । मनभरि रोमांचक आकृति थियो । तर जब पुगें, ती आकृतिहरू ऐना फुटेझैं चकनाचुर भए । ‘स्वर्गको आशा गरेर हिंडेकाहरू नर्कमा पुगे झैं ।’ रिसको पारो यति चढ्यो कि, सम्बन्धित निकायका अधिकारीलाई ‘बाँधेर घाँस हाल्दा पनि रिस नमर्ने’ अवस्था भयो ।
'माल पाएर चाल नपाए जस्तो', मधेस सरकारलाई सिमरौनगढ यस्तै भएको निश्कर्ष निकालेँ । मधेसका राजनीतिकर्मीहरू लगातार गुनासो गर्छन् कि संघीय सरकारले मधेसलाई चरम रूपमा हेपेको छ । यस आरोप धेरै कुरामा सत्य हुन सक्छ । तर, यो दरबार क्षेत्र डुलेपछि लाग्यो— ‘मधेसलाई अरुहरुलेभन्दा बढी मधेसी नेतृत्वले नै हेपेर राखेको छ ।’
भौगोलिक र ऐतिहासिक महत्व
बारा जिल्लाको दक्षिणपूर्वी भागमा रहेको सिमरौनगढ नगरपालिका ऐतिहासिक रूपमा नेपालकै महत्वपूर्ण स्थानहरूमध्ये एक हो । वीरगंजबाट २८ किमी पूर्वमा रहेको यो नगर विभिन्न नामले चिनिन्छ— सिमरौनगढ़, सिमरा वनगढ़, सिम्मनगाडा, पाटा आदि ।
११औं देखि १४औं शताब्दीबीच यहाँ कर्नाट वंशको राजधानी थियो । यस राजवंशका विभिन्न पुरातात्विक कलाकृतिहरू, मूर्तिहरू, पोखरीहरू, इनारहरू, किल्ला लगायतका संरचनाहरू अझै भेटिन्छन् । स्थानीयका अनुसार, कतिपय संरचनाहरू हराइसकेका छन् ।
इतिहास अनुसार कर्नाट वंशका संस्थापक नान्यदेव सन् १०९७ मा सिमरौनगढ आएका थिए । चालुक्य राजवंशसँग सम्बन्धित मानिने नान्यदेवले नेपालका साथै उत्तरी भारतका विभिन्न भागमा शासन विस्तार गरेका थिए । तिरभुक्तिका कर्नाटहरू र बंगालका सेन राजवंशबीच लामो समयसम्म संघर्ष भएको थियो । अन्ततः कर्नाट वंशले आफ्नो शक्ति दरिलो बनाउँदै नेपालसम्म प्रभाव विस्तार गर्यो ।
तर, सन् १३२४ मा दिल्ली सुल्तान गयासुद्दीन तुघलकले आक्रमण गरेपछि सिमरौनगढ पराजित भयो । अन्तिम कर्नाट राजा हरिसिंह देव आफ्नो परिवारसहित पहाडतिर उक्लिए । पछि, काठमाडौं उपत्यकामा मल्ल राजवंशको प्रारम्भिक पृष्ठभूमि निर्माण भयो ।
इतिहास अनुसार तिब्बती भिक्षु धर्मस्वामीले सन् १२३६ मा सिमरौनगढको यात्रा गरेका थिए । उनको लेखाइमा यहाँका भव्य महलहरू, दरबार र धार्मिक संरचनाहरूको वर्णन पाइन्छ । त्यतिबेला सिमरौनगढ उच्चस्तरीय किल्लाबन्दी गरिएको शहर थियो, जसलाई स्थानीय भाषामा ‘बाही’ भनिन्थ्यो । यसको परिधि उत्तर–दक्षिण ५.५ किमी र पूर्व–पश्चिम ४ किमी थियो ।
भक्तपुरका मल्ल राजाहरूले समेत सिमरौनगढ किल्लाको उल्लेख गरेका छन् । भक्तपुर दरबारमा रहेको एउटा ढुंगामा यो किल्लाको चित्र कुँदिएको छ, जसले यसको ऐतिहासिक महत्व झल्काउँछ ।
सिमरौनगढको दरबारमा विद्वानहरूको उच्च सम्मान थियो । यहाँका राजा–महाराजाहरूले विद्वानहरूलाई प्रमुख सल्लाहकारका रूपमा राख्थे । कर्नाटकालका प्रमुख विद्वानहरू चण्डेश्वर ठाकुर, ज्योतिरिश्वर ठाकुर, वाचस्पति मिश्र र कवि विद्यापति प्रसिद्ध थिए ।
मल्ल राजाहरूसँग सिमरौनगढको सम्बन्ध
१७ औं शताब्दीका काठमाडौं उपत्यकाका मल्ल राजाहरू, विशेष गरी प्रताप मल्ल र जगज्योति मल्लले नान्यदेवलाई ‘प्रधान पूर्व पुरुष’ भनी उल्लेख गरेका थिए । मल्ल राजाहरूले नान्यदेवको ‘मान्डव गोत्र’ अपनाएका थिए, जसले उनीहरूको कर्नाटवंशी विरासतलाई झल्काउँछ ।
हरिसिंह देवकी छोरीको विवाह भक्तपुरका जयस्थिति मल्लसँग भएपछि मल्लहरू र कर्नाटवंशीहरूबीच सम्बन्ध अझ प्रगाढ भएको थियो । त्यसपछि, कर्नाट वंशका परम्परागत देवी ‘तलेजु भवानी’ लाई मल्ल राजाहरूले पनि उपत्यकामा पूजा गर्न थाले ।
उपेक्षा किन ?
यस्तो गौरवशाली इतिहास बोकेको सिमरौनगढ आज संरक्षण अभावमा ध्वस्त भइसकेको छ । पुराना इँटा तथा अन्य संरचनाहरू वेवारिसे अवस्थामा छन् । पुरातत्व विभाग, स्थानीय निकाय र संघीय सरकारले यसको जगेर्नामा सिन्को पनि भाँचेको देखिँदैन ।
अझै पीडादायी कुरा के छ भने— नयाँ भवन बनाउने नाममा आधुनिक संरचना उभ्याएर सिमरौनगढको दाहसंस्कार नै गरिसकेकाछन् । यही कारण सम्बन्धित निकायका पदाधिकारीलाई संझिदा झोक चल्छ नै । संघीय सरकार र पुरातत्व विभागको मुख ताक्नु भन्दा मधेस सरकार र स्थानीय तहले सकेको जति गरे पनि आज यो अवस्था आउने थिएन होला ।
दरबार क्षेत्रमा एउटा निलो टिनको पाप्रोमा सूचना टाँगेर पुरातत्व विभागले गौरव अनुभूती गरिरहेको होला । अरु त अरु त्यहाँका पुजारी समेत आउने गरेका न्यून पर्यटकलाई भड्काउन बसेझैं लाग्छ । उनी यसको महत्वलाई अहिलेको राजनीतिक नेतृत्वसँग जोडेर उडाउने काममा रहेछन् । दरबार क्षेत्रको १५ सय बिग्गा जमीन ओगटेर बसेका सिमरौनगढका स्थानीय पनि तैचुप–मैचुपको अवस्थामा छन् ।
दरबार छेउछाउ भेटिएका मूर्तिहरु तथा अन्य सम्पदाहरुलाई निकै परको एउटा मन्दिर कम्पाउन्डमा लगेर राखिएको छ । ती सम्पदाहरु दरबार परिषरमा नै कतै राख्न पाएको भए, पर्यटकलाई खुराक नै हुन्थ्यो होला । त्यति पनि अक्कल देखिदैन, पुरातत्व र स्थानीय तहको ।
यसरी नेपाल–भारतदेखि संसारभरीका पर्यटक तथा अन्वेषकहरुलाई एउटा सुन्दर इतिहास हेर्नबाट सबै मिलेर बञ्चित गरिएको दृश्य निकै नै कारुणिक छ । गर्दैनन् भन्ने थाहा हुँदा–हुँदै पनि एक पटक चिच्याएर भन्न चाहान्छु, ‘यो चानचुने सम्पदा होइन, यसको संरक्षण र प्रचार प्रसारले मदेसको शिर उचो बनाउँछ । सकेको गर ।’
नत्र इतिहासले तिमीहरूलाई गच्छे अनुसार धिक्कार्ने छ ।


दिवस गुरागाईं
