कतिपय ठाउँमा पुगेर फर्किएपछि लाग्छ–यात्रा होईन एउटा कथा रचियो । ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ मेरो स्मृतिमा यस्तै एउटा कथा बन्यो ।
आशापुरीमा होमस्टे सञ्चालन गर्ने तयारी हुँदैछ भन्ने खबर केही महिना अघि नै भएको हो । त्यसबेला मिडियाकर्मीलाई बोलाएर ‘ब्रिफिङ’ गरिएको थियो । म पनि पुगेको थिएँ । यसपटक भने त्यही तयारी पुरा भएको जानकारी गराउने कार्यक्रम मात्रै होइन, उद्घाटनकै लागि बोलाईएको थियो । कुरो थियो, २०८३ साउन १६ को ।
निम्तो मान्न हाम्रो पाँचजनाको टोली तयार भयो–पेशल आचार्य, पुष्करराज बुढाथोकी, रमेश गिरी, विरेन चौलागाईं र म । हाम्रो ग्रुप लिडर पेशल दाइ नै चालक पनि हुनुहुन्थ्यो । मचाहिँ चालक दलको सदस्य । यात्रा सुरु भयो भक्तपुरको गठ्ठाघरबाट । आशापुरी पुग्न आफ्नै सवारीसाधन हुनुपर्छ, नभए रिजर्भ । अर्के बिकल्प छैन । हामीसँग आफ्नै सवारी साधन थियो ।
तर बाटोले भने सुरुमै आफ्नो परिचय दियो । सिधा बाटो हिलोका कारण अफ्ट्यारो भएको सूचना आयो । त्यसपछि बाटो बदलियो । ध्याम्पेडाँडाको बाटो समातियो ।
आशापुरी भक्तपुरको त्यही ठाउँ हो, जहाँ शहरको कोलाहल बिस्तारै हराउँदै जान्छ र गाउँको मौनता सुनिन थाल्छ । सूर्यविनायक नगरपालिका–८ को दक्षिणी सीमातिर पर्छ पाटीभञ्ज्याङ । आशापुरी मन्दिर सूर्यविनायक र बनेपाको सीमानामा पर्छ । भक्तपुरकै भए पनि यहाँ पुग्दा शहरबाट निकै टाढा आइपुगेजस्तो लाग्छ ।

बाटो ? बाटोभन्दा बढी परीक्षा । त्यसमाथि दर्के पानी । भिरालो डाँडा । कतै माटो खस्ने डर, कतै पहिरोले बाटो नै धस्काउने चिन्ता । गाडी गुडिरहेको थियो, तर मनमा भने एउटा प्रश्न चलिरहेको थियो–‘हामी साँच्चिकै होमस्टे जाँदैछौँ कि साहसिक पर्यटनको अभ्यास गर्दैछौँ ?’
तर यात्रा भनेकै त यही हो । गन्तव्य सहज हुने हो भने यात्राको कथा कहाँबाट आउँछ र ? हामी ध्याम्पेडाँडाको अप्ठ्यारो बाटो छिचोल्दै पाटीभन्ज्याङ् पुग्यौँ ।
स्थानीय र आयोजक बाहेक एक दर्जनभन्दा बढी पत्रकार अनि पाहुनासहित करिब तीन दर्जन वाहिरी मानिसको जमघट थियो, उद्घाटन कार्यक्रममा । कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेत प्रमुख अतिथि थिए । सक्रिय युवा वडा अध्यक्ष । केही गरौँ भन्ने हुटहुटी भएको । कार्यक्रममा उनी प्रमुख अतिथि मात्रै थिएनन्, सबैको केन्द्रविन्दु पनि थिए । विशेषगरी होमस्टे सञ्चालकहरूका लागि त उनी आशाका केन्द्र थिए ।
वडा अध्यक्षको बोलीमा वडालाई पर्यटन र रोजगारीसँग जोड्ने सपना सुनिन्थ्यो । आशापुरी र पाटीभञ्ज्याङलाई चिनाउने, स्थानीय युवालाई गाउँमै अवसर दिने र स्थानीय उत्पादन, संस्कृति तथा आतिथ्यलाई पर्यटकसँग जोड्ने योजना उनको कुराकानीमा बारम्बार आइरहेको थियो । लाग्यो–कुनै ठाउँ बदलिनुअघि त्यहाँका मानिसको कल्पना बदलिनुपर्छ । र कल्पना गर्ने मान्छे त्यहाँका अगुवामध्ये एक हुनुपर्छ । पुष्पराज त्यही कल्पनाको कुरा गरिरहेका थिए ।

कार्यक्रममा होमस्टेका अध्यक्ष अजय बाबु तामाङले पनि लामो तयारी, स्थानीयको सहकार्य र सामुदायिक प्रयासको कथा सुनाए । २७ वटा घर होमस्टेमा आबद्ध छन् । एकैपटक करिब १५० पाहुनालाई राख्न सक्ने क्षमता रहेको जानकारी उनैले दिएका हुन् ।
वडा कार्यालयले करिब दुई लाख रुपैयाँ बराबरका २७ सेट सांस्कृतिक सामग्री होमस्टेलाई हस्तान्तरण गर्ने पनि कार्यक्रम रहेछ । गरियो पनि । डम्फु, मादल, खैजडी, झ्यालीलगायत तामाङ समुदायले मन पराउने बाजा, जो हामेस्टेका पाहुनालाई बजाएर आफ्नो प्रतिभा र परिचय बाँड्ने साधन पनि रहेछन् ।
खादा र फूलका गुच्छाले पाहुनाको स्वागत भयो । त्यसपछि तामाङ मौलिक गीत र नृत्यले वातावरण ततायो ।
कस्लाई कुन घरमा बास बस्न पठाउने ? औपचारिक कार्यक्रम सकिए लगत्तै यही भागबण्डा भयो । को कहाँ बस्ने ? हामी छजना पत्रकार एउटै घरमा प¥यौँ । घर थियो–विकासकुमार तामाङको । छैटौँ पत्रकार थिए आरसी प्रजापती ।

हामी छजनामा एउटा अनौठो समानता रहेछ, खोया बिर्के होस् वा टिनको बिर्के, त्यसमा आउने तरल पदार्थप्रति हाम्रो कुनै विशेष रुचि थिएन । त्यसैले हाम्रो साँझको ‘कार्यक्रम’ अलि फरक भयो । दुई रसिक मित्रहरु सँगै परेछन् । उनीहरुको खोजी राती अबेरसम्म भइरहेको थियो ।
विकासकुमार तामाङ समाजसेवी रहेछन् । उनको चारजनाको परिवार । दुबै छोरीहरू मोडल भैसकेका । ब्यवहार र ब्यापार बुझिसकेको परिवार रहेछ । चारजनाको परिवारले छजना पाहुनालाई अटाउने घर बनाएको रहेछ ।
मकैको ढिँडो र कुखुराको रस । टमाटरको अचारसँग । साँझको खाना आयो । हामीले पलेटी मारेर बजायौं । तीनै कुरा उत्कृष्ट । मकैको ढिँडोमा गाउँको स्वाद थियो । टमाटरको अचारमा घरको माया । कुखुराको रसमा आतिथ्य ।

खाना स्वादिलो थियो कि स्वाद फेरिएको थियो ? यो अनुसन्धानको विषय हुन सक्छ । तर त्यो साँझ हाम्रो टोलीको सर्वसम्मत निर्णय थियो– खाना गज्जब ।
भोली पल्ट बिहानको खाजा अझ रोचक । गुलिया मकै, हरियो भटमास र अन्डा । तीनै कुरा उसिनेका । तेल छैन । मसला छैन । झन्झट छैन । सबै अग्र्यानिक । र हाम्रो ठट्टा पनि त्यत्तिकै अग्र्यानिक । शहरका होटलमा बसेर ‘अग्र्यानिक’ खोज्ने हामीलाई गाउँले भान्साले कुनै विज्ञापन नगरी अग्र्यानिकको अर्थ बुझाइरहेको थियो ।
बिहानको खाजा पछि आशापुरी मन्दिरमा भेट्ने आयोजकको उर्दी थियो । तीन किलोमिटर बाटो र बिरबिर पानी । हामी लाग्यौँ, हाइकिङमा ।
बाटो भिजेको थियो । माटोमा चिसोपन थियो । वरिपरि हरियाली । हावामा माटो र पातको गन्ध । शहरमा पानी पर्दा मानिस छाता खोज्छ । गाउँमा पानी पर्दा बाटोको सौन्दर्य बदलिन्छ । बिरबिर पानीमा हिँड्नुको मजा पनि अग्र्यानिक नै थियो ।
आशापुरी मन्दिर पुग्यौँ । पेशल दाइ र रमेशजी फोटो सुटमा लाग्नुभयो । प्रकृतिको स्टुडियोमा मोडलिङ । क्यामेराको लेन्समा आशापुरी कैद हुँदै थियो । रमेशजीको खाइलाग्दो मोवाइलमा बीरेनको ‘क्लिक’ सुहाएकै थियो ।
हामी रमाउँदै थियौँ । त्यहीँ फेरि वडा अध्यक्ष पुष्पराज बस्नेत झुल्किए । पर्यटन र रोजगारीलाई जोडेर वडामा धेरै काम गर्न चाहेको उनले बताए । वडा नं. ८ लाई एउटा उचाइमा पु¥याउने आफ्नो कल्पना सुनाए । उनको कुरा सुन्दा लाग्यो– विकास भनेको सिमेन्ट र डन्डीको हिसाब मात्र होइन । कुनै ठाउँको मौलिकतालाई चिनेर त्यसलाई अवसरमा बदल्नु झन् ठूलो विकास हो ।
आशापुरीसँग मन्दिर छ । हरियाली छ । तामाङ संस्कृति छ । गाउँ छ । घरको भान्सा छ । स्थानीय उत्पादन छ । यी सबैलाई पर्यटकसँग जोड्न सक्ने हो भने पाटीभञ्ज्याङ्ले आफ्नो कथा आफैँ भन्न सक्छ ।
मन्दिरबाट होमस्टे फर्किँदै गर्दा पेशल दाइले मोबाइल हेर्नुभयो । आज जम्मा छ हजार पाइला हुनेभयो । उहाँलाई यति हिडेर पुगेको थिएन । हामीलाई त छ हजार पनि ठूलै उपलब्धि थियो । पछि पो थाहा भयो– उहाँ त हरेक दिन कम्तीमा दस हजार पाइला हिँड्नुहुने रहेछ । यात्राले मानिसको फिटनेसको पनि हिसाब निकाल्दो रहेछ । १० हजार पाइला हिड्नेले पाटीभन्ज्याङबाट डोलेश्वर जाँदा हुन्थ्यो । तर त्यो दिन आयोजकको रुट यही थियो ।
फर्केर खाना खायौँ । बिहानको खाना पनि उस्तै तारिफयोग्य । मासु थियो । तर ‘म्यान अफ द म्याच’ पायो, ‘सिमेसाग’ले ।
मासु हुँदाहुँदै सिमेसागले बाजी मा¥यो । खानाको अर्को विशेषता थियो– दाउराको स्वाद । ग्यास सकिएको रहेछ । बजारमा ग्यासको सर्टेज । त्यसैले खाना दाउरामा पाकेको । दाउराको धुवाँले खानामा एउटा छुट्टै ‘स्मोकी फ्लेभर’ थपिदिएको थियो । कहिलेकाहीँ अभावले पनि स्वाद जन्माउँछ । ग्यासको अभाव समस्या थियो, तर त्यही समस्याले हाम्रो खानामा सम्झनालायक स्वाद थपिदियो ।
अब फर्किने बेला हुँदै थियो । तर हामी खाली हात फर्किन चाहेनौँ । आशापुरीले हाम्रो जिब्रोलाई मकै र काक्रोको स्वाद चखाइसकेको थियो । त्यसैले काक्रो र मकै प्याक गर्न लगायौं । यात्राको स्वादसँगै गाउँको स्वाद पनि लिएर जाने निर्णय भएको थियो । त्यसमाथि बोनसमा आयो–काँचो टिम्मुर । मैले काँचो टिम्मुर पहिलोपटक देखेको थिएँ । शहरमा धुलो र सुकेको कालो टिम्मुरदेखेको मलाई काँचो टिम्मुर आफैँमा एउटा सानो आविष्कारजस्तो लाग्यो ।
यात्राबाट फर्किंदा कहिलेकाहीँ स्मृति ठूलो वस्तुमा होइन, यस्तै सानो कुरामा अडिन्छ । काँचो टिम्मुर पनि त्यस्तै भयो ।
तर आशापुरीमा हाम्रो धेरै जम्काभेट मकै, काक्रो र टिम्मुरसँग होइन जुँकासँग भयो । लिब्रिक... लिब्रिक गर्दै आउने जुँका ।
हामीले रात बिताएकै कोठामा पटक–पटक गरेर दुईवटा जिउँदा जुँकाले दर्शन दिए । एउटा जुँकाले पुष्करजीको शरीरमा कतिबेला पुगेर गहिरोगरी मुख गाडेछ, रगत देखेर मात्रै थाहा भयो । कतिवेला र कसरी टोक्यो भन्ने कुरा हामीलाई त के, स्वयं पुष्करजीलाई समेत पत्तो भएन । यात्रामा प्रकृतिसँग नजिक हुनु भनेको फूल, पुतली र चरासँग मात्र भेट हुनु होइन रहेछ । जुँकासँग पनि परिचय हुन सक्छ । आशापुरीले हामीलाई त्यो अनुभव पनि दियो ।
होमस्टेमा प्रवेश गर्दा हामीले खादा र फूलका गुच्छाले स्वागत पाएका थियौँ । निस्कने बेला फूलकै गुच्छाले विदाइ हुन पायौँ । तर विदाइको त्यो क्षण औपचारिक थिएन । घरबेटी भाउजू हामी गाडी चढ्ने ठाउँसम्मै आउनुभयो । हात हल्लाउँदै बिदाइ गर्नुभयो । त्यो मनछुने दृश्य थियो ।
होमस्टेले हामीलाई पाहुना भएर बोलाएको थियो । तर फर्किने बेला भने हामीलाई घरबाटै निस्किएजस्तो महसुस गरायो । सायद होमस्टेको सबैभन्दा ठूलो सफलता यही हो । पाहुना आएको हो कि आफ्नै मान्छे आएको हो भन्ने सीमारेखा मेटिनु ।
गाडी बिस्तारै ओरालो लाग्यो । पछाडि छुट्दै गयो–पाटीभञ्ज्याङ् । छुट्दै गयो–दाउराको धुवाँ मिसिएको चिकेन करी । मकैको ढिँडो । टमाटरको अचार । सिमेसाग । बिरबिर पानी । आशापुरी मन्दिर । र केही जुँकाहरूको अनपेक्षित आतिथ्य ।
तर आशापुरी पूरै पछाडि छुटेन । हाम्रो गाडीमा केही मकै थियो । काक्रो थियो । काँचो टिम्मुर थियो । र मनमा एउटा यात्राको तस्बिर ।
‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ भर्खर औपचारिक रूपमा सञ्चालनमा आएको छ । यसको भविष्य कति उज्यालो हुन्छ, त्यसको फैसला समयले गर्नेछ । तर यसको सम्भावना भने बाटोमै देखिन्छ । २७ घरको सामुदायिक सहभागिता । करिब १५० पाहुना अटाउने क्षमता । तामाङ संस्कृति । स्थानीय उत्पादन । गाउँको मौलिक भान्सा । आशापुरी मन्दिर । र डोलेश्वरदेखि आशापुरीसम्मको धार्मिक–पर्यटकीय सम्भावना । यी सबैलाई एउटै धागोमा बाँध्न सक्ने हो भने यो केवल होमस्टे रहनेछैन, एउटा गन्तव्य बन्न सक्छ ।
होमस्टे भनेको पर्यटकलाई सुताउने ठाउँ मात्रै होइन । यो स्थानीय उत्पादन बेच्ने ठाउँ हो । संस्कृति देखाउने ठाउँ हो । स्थानीय युवालाई गाउँमै रोक्ने सम्भावना हो । आफ्नै भान्साको स्वादलाई आम्दानीमा बदल्ने बाटो हो । र सबैभन्दा महत्वपूर्ण–आफ्नो घरको ढोका अपरिचितका लागि खोलेर उसलाई आफ्नै मान्छेजस्तो बिदा गर्ने संस्कार हो ।
आशापुरीले हामीलाई त्यही संस्कारको स्वाद चखायो । मकैको स्वादमा । दाउराको धुवाँमा । बिरबिर पानीमा । जुँकाको अनपेक्षित भेटमा । र अन्त्यमा गाडी चढ्ने ठाउँसम्मै आएर हात हल्लाइरहेकी भाउजूको आत्मीयतामा । यात्रा सकियो ।
तर आशापुरीको कथा सायद भर्खर सुरु भएको छ । अर्कोपटक त्यहाँ पुग्दा जुँकाले हामीलाई चिन्छ कि चिन्दैन, त्यो थाहा छैन । तर हामीले भने आशापुरीलाई चिनिसकेका छौँ । एउटा ठाउँका रूपमा होइन– एउटा आत्मीय घरका रूपमा ।


दिवस गुरागाईं
