भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वरधाम निर्माणार्थ आयोजना गरिएको शिव पुराण महायज्ञमा हालसम्म ६८ लाख रुपैयाँ सङ्कलन भएको छ ।
चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यहीँ विश्वकै अग्लो महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि सुरु भएको उक्त महायज्ञमा आजसम्म ६८ लाख रुपैयाँ सङ्कलन भएको चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले जानकारी दिए ।
कलमसीमा रहेको ६० रोपनी क्षेत्रफलमा महादेवको मूर्ति वरिपरि एक हजार आठ शिवलिङ्गका साथै विभिन्न धार्मिक संरचना निर्माण गर्न आयोजना गरिएको सो महायज्ञ यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।
संयोजक खत्रीले भने, “आफ्ना पितृको सम्झनामा सङ्कल्प गरेर एक हजार आठ शिवलिङ्ग स्थापना गर्न दातालाई गुहारेका छौँ ।” एउटा शिवलिङ्गका लागि ३५ हजार दान गरेर स्थापना गर्न सकिने उनको भनाइ छ । अहिलेसम्म ७२ जनाले शिवलिङ्ग स्थापनाका लागि दान गरिसकेका छन् । कल्पेश्वरको १०८ फिट अग्लो महादेवको मूर्ति निर्माणका लागि दाताले सहयोग गर्ने क्रम जारी छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउँदै यस क्षेत्रमा धार्मिक पर्यटकको प्रचुर सम्भावनालाई मूर्तरूप दिन महायज्ञ आयोजना गरिएको बताए । १०८ फिटको मूर्ति निर्माणका लागि करिब दुई करोड खर्च हुने भएको छ । कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्युटावरबाट नजिकै पर्छ । यहाँबाट काठमाडौं उपत्यकालगायत काभ्रपलाञ्चोकको नाला, बनेपा, धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
प्रसिद्ध कलमसी क्षेत्र चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थलका रूपमा रहेको छ । यस क्षेत्रमा नाग कुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना छन् । आसपासमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर पर्छन् ।


