सुरज बास्तोला ।
पछिल्लो समय नेपालका ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पुर्या इरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएका स्थानमा होमस्टे राम्रो विकल्प हो भन्नेहरू पनि छन्। त्यसो त यति मात्र नभई होमस्टेको छुट्टै विशेषता, आनन्द र बेग्लै महत्व पनि छ । होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मीयता पनि मिल्छ । एउटै परिवारजस्तै भएर बस्न सकिने कुरा पनि छन्। बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरूका लागि पनि होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानीय रहनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ ।
नेपाल सरकारले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने उद्देश्यले होमस्टे सञ्चालन कार्यविधि, २०६७ जारी गरेपछि होमस्टेको जागरण फैलँदो क्रममा रहेको छ । होमस्टे सञ्चालक सम्बन्धितहरूको छाता संगठनको रूपमा रहेको होमस्टे महासंघले समेत यसमा संलग्न सबैको स्तर वृद्धि गर्नेदेखि सम्भावनाहरूको जागरण ल्याउन व्यवसायीहरूको आवाजलाई थप बुलन्द गर्न प्रयास गरिरहेको छ ।
होमस्टे पर्यटन क्षेत्र एकमात्र त्यस्तो क्षेत्र हो जसले पर्यटनको बहसलाई जनताको चुलो, चौको र घर आँगनसम्म पुर्याकएको छ । हालसम्म नेपालको ७० जिल्लामा दर्ता भई वा नभई १५०० भन्दा बढी संस्थागत होमस्टेहरू (१५,००० घरपरिवार) सञ्चालनमा आएका छन् । यिनै होमस्टेहरूलाई व्यवस्थित गर्दै व्यवसायीकरण गर्न, होमस्टे सञ्चालकहरूको समस्या र आवाजलाई सरोकारवाला निकायहरूमा पुर्याउन, पर्यटनमा सक्रिय सरकारी, अर्धसरकारी, गैरसरकारी निकाय तथा संघ–संस्थाहरूसँग समन्वय गर्न, होमस्टे ऐन, नीति, नियम, कार्यविधिबारे जानकारी हासिल गर्न तथा राज्यका स्रोतमा होमस्टेको पहुँच पुर्याउन समय–समयमा होमस्टेको क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।
हाल देशमा संघ, प्रदेश तथा स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरी लक्षित वर्गमा क्षमता अभिवृद्धि गर्ने, सीप र चेतनामा नवीनता ल्याउने, व्यवसायिक सीप प्रदान गर्ने, आर्थिक रूपमा सबल बनाउने जस्ता कार्य गर्दै आएका छन् । नेपालको आर्थिक विकासका मुख्य चार क्षेत्र मानिँदै आएको कृषि, पर्यटन, जल तथा जडीबुटीमध्ये एक प्रमुख क्षेत्र पर्यटन हो । त्यसमध्ये पनि नेपाल सुन्दर ग्रामीण गाउँ–बस्ती, १४२ जातजाति, १२४ भाषाभाषी भएको विश्वकै एक सांस्कृतिक संग्रहालयजस्तो देश भएकाले र अधिकांश भू–भाग ग्रामीण परिवेशमा रहेकाले ग्रामीण पर्यटन, पर्यटनभित्रको मुख्य साधनको रूपमा रहेको छ ।
ग्रामीण पर्यटनभित्र हाल होमस्टेले नेपालका दूरदराजका गाउँबस्ती, जाति समुदायलाई समेत पर्यटन व्यवसायमा जोड्ने महत्वपूर्ण उपकरणका रूपमा कार्य गरिरहेको छ ।
होमस्टे व्यवसायका मुख्य आधार भनेकै यहाँको सांस्कृतिक र प्राकृतिक विविधता हो । जसले नेपालको धर्म, संस्कृति, जात्रा, पर्व, भेषभूषा, भाषा, मौलिक परम्परा, रहनसहन अनि प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण–प्रवद्र्धन गर्न अमूल्य योगदान दिन्छ र त्यसै माध्यमबाट यो व्यवसायमा जोडिन सकिन्छ । होमस्टे पर्यटनमार्फत समावेशी, समानतामूलक राज्य निर्माणको उद्देश्य पूरा हुनेछ । पछाडि पारिएका जाति, समुदाय, वर्ग, लिङ्ग र क्षेत्रलाई देशको विकास पथको मूलधारमा समाहित गर्न सकिनेछ ।
नेपालको ग्रामीण पर्यटनको मुख्य व्यवसायको रूपमा होमस्टे पर्यटन रहेको छ । थोरै लगानीमा सुरु गर्न सकिने, कम जोखिम भएको व्यवसाय होमस्टे पर्यटन हो । यो व्यवसाय ग्रामीण भेगका गरिबीको रेखामुनि रहेका, पछाडि पारिएका जाति, वर्ग, लिङ्ग र क्षेत्रका समुदायले पनि सजिलै सुरु गर्न सक्छन् । जसका लागि आधारभूत तथा क्षमता अभिवृद्धिका विशेष तालिमहरू अत्यन्त आवश्यक पर्दछ ।
बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालका दूरदराजका गाउँ–बस्तीसम्म पुर्याउन कुन–कुन होमस्टे कस्तो अवस्थामा छन् भन्ने कुराको प्रवद्र्धन गर्नु अत्यावश्यक छ । जसले गर्दा हालको केन्द्रिकृत पर्यटनलाई देशभर भ्रमण गराउने उत्तम विकल्पका रूपमा होमस्टे प्रस्तुत हुन सक्छ ।
नेपाल पृथ्वीको भू–स्वर्ग हो, नेपालका हरेक गाउँ–बस्ती र समुदाय पर्यटक लोभ्याउने आकर्षण बोकेका छन् । त्यसैले नेपालमा दिनानुदिन होमस्टे खोल्ने क्रम बढिरहेको स्वाभाविक हो ।
स्थानीय जनताले स्वदेशमै बसौँ, आफ्नै परिवारसँग, आफ्ना स्थानीय रैथाने उत्पादनसँगै कला र संस्कृतिको जगेर्ना गर्दै जीवनस्तर उकास्ने कार्य गरौँ भन्ने चाहना गर्नु राम्रो कुरा हो । तर, विडम्बना वि.सं. २०६७ बाट संस्थागत रूपमा सुरु भएको होमस्टे पर्यटनलाई नेपालको राजनीतिक अस्थिरता, महाविनाशकारी भूकम्प, नाकाबन्दी, कोभिडजस्ता कारणहरूले सोचेजस्तो परिणाम दिन सकेन ।
आज सूचना प्रविधिको विश्वव्यापिकरणको युगमा सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका दूरदराजका होमस्टेकर्मी साथीहरूको प्रविधिमा पहुँच नपुगेका कारण होमस्टेले अपेक्षित गति लिन नसकेको जगजाहेर छ ।
राज्यले २०६७ मा कार्यविधि बनायो, अझ भन्नुपर्दा होमस्टे जन्माई दियो तर पालनपोषण नगरेकै कारण, तारा गाउँ विकास समितिले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठी २०७० मा हामी होमस्टे सञ्चालकहरूको बलबुतामा होमस्टे एसोसिएसन नेपालको स्थापना भएपछि मात्र नेपालका होमस्टेहरूको पालनपोषण सुरु भएको हो । होमस्टे एसोसिएसनको पहलमा तारा गाउँ विकास समितिले पनि आफ्नो सीमित स्रोत–साधन प्रयोग गरेरै भए पनि आजसम्म धान्दै आइरहेका छौँ ।
जब होमस्टे एसोसिएसन नेपाल हुँदै गाभर सम्मेलन २०७८ बाट होमस्टे महासंघको रूपमा आजसम्म आइपुग्दा, महासंघको संरचना केन्द्रीय, प्रदेशस्तरीय, जिल्लास्तरीय र पालिकास्तरसम्मको बनाई नेपालका वास्तविक होमस्टेहरूको क्षमता अभिवृद्धि, पूर्वाधार विकास जस्ता कार्यमा राज्यका सम्बन्धित निकायहरूलाई झक्झक्याउने काम महासंघले गरिरहेको छ । हरेक वर्ष आयोजना हुने राष्ट्रिय स्तरका कार्यशाला गोष्ठीहरूले पनि नेपालका होमस्टेहरूको समस्या पहिचान गरी समाधान गर्न मद्दत पुर्याइरहेका छन् ।
आज सुविधा र सहज जीवनको आशमा आफ्नो जन्मथलो छाडेर अन्यत्र जान मानिस बाध्य छ । आफ्नै ठाउँमा केही गरौँ भने श्रमजीवी वर्गको सम्मान छैन, श्रमको मूल्य छैन, केवल विचौलियालाई मात्र सम्मान र मूल्य दिइन्छ । त्यसैले मानिस अवसरको खोजीमा भौतारिइरहेको छ ।
यसर्थ, नेपालका होमस्टेहरूले उजागर गरेका वास्तविक समस्याहरू राज्यले सम्बोधन गर्ने मात्र हो भने, हाम्रा गाउँघरका बा–आमाहरू छोराछोरीहरूको साथमा, नाति–नातिनासँग खेल्दै देश–विदेशका पर्यटकहरूसँग गफगाफ गर्दै हुने थिए । यसरी तीन पुस्ता एउटै छानामुनिको आत्मीयता देख्दा नेपालको ग्रामीण होमस्टे पर्यटन विश्वका लागि एक नमुना कार्यक्रमको रूपमा सफल हुनेथियो ।
नेपालका होमस्टेको क्षेत्रमा भन्नुपर्ने, गर्नुपर्ने धेरै कुरा छन् तर संक्षेपमा भन्नुपर्दा, पर्यटकीय सम्भावना बोकेका स्थानहरूमा होमस्टे पर्यटनको विकास एवं विस्तार गर्न सकेमा स्थानीय जनताको आर्थिक स्तर वृद्धिमात्र नभई, क्षमता अभिवृद्धि, लैङ्गिक समानता, महिला सशक्तीकरण, चेतनाको विकास, सरसफाइ, स्थानीय रैथाने उत्पादनमा वृद्धि, कला–संस्कृति र प्रकृतिको संरक्षण, सांस्कृतिक आदानप्रदान, पूर्वाधारको विकास एवं विस्तार जस्ता कार्य आफैं अगाडि बढ्ने कुरामा दुईमत छैन ।
जस्का लागि दूरदृष्टि भएको स्थिर, पर्यटनमैत्री सरकारको खाँचो छ ।
धन्यवाद ।

सुरज बास्तोला (9841 211597)
अध्यक्ष : नगरकोट सामुदायिक होमस्टे, चाँगुनारायण नगरपालिका ६, भक्तपुर ।
कोषाध्यक्ष : होमस्टे (घरवास) महासंघ नेपाल, काठमाण्डौं ।
प्रवन्ध निर्देशक : ओभरअल डेभलपमेन्ट नेटवर्क प्रा. लि., भक्तपुर
homestaysuraj@gmail.com / : nagarkothomestay@gmail.com


