images
images

जापानमा लगातार घट्दैछ जन्मदर, गत वर्ष सात लाखभन्दा कम शिशुको जन्म


  • 525
    SHARES
  • २०८२ जेठ २१ गते बुधबार

    जापानमा लगातार घट्दैछ जन्मदर, गत वर्ष सात लाखभन्दा कम शिशुको जन्म

    टोकियो । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । यो सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो ।

    विश्व बैङ्कका अनुसार कुल जनसङ्ख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरैे वृद्ध व्यक्तिहरूको जनसङ्ख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ । प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरूको प्रतिज्ञा गरेका छन् ।

    जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्याङ्कअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत सङ्ख्या) पनि १.१५ मा झरेको छ । जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो ।

    जनसङ्ख्याका हिसाबले खुम्चिँदै गएका गाउँहरूमा वृद्धहरू झन्–झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरूको पुनरुत्थानको लागि आह्वान गरेका छन् । जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् ।

    करिब १२ करोड ३० लाख जनसङ्ख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसङ्ख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ । सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसङ्ख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन।

    छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ । यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ ।


    images

    Logo