images
images

आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड बराबरको बजेट


  • 410
    SHARES
  • २०८२ आषाढ २९ गते आइतबार

    आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड बराबरको बजेट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख सुनिता डङ्गोलले नगरसभाको १७औँ अधिवेशनमा बजेट तथा विनियोजन विवरण प्रस्तुत गर्दै सामाजिक विकास, पूर्वाधार निर्माण, प्रशासनिक सञ्चालन, आर्थिक विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा कुल २५ अर्ब ११ करोड ४३ लाख ११ हजार रुपैयाँ खर्च हुने जानकारी दिएकी हुन् ।

    जग्गा एकीकरण तथा अन्य निकायबाट प्राप्त कार्यक्रमका लागि छुट्टै ६५ करोड विनियोजन गरिएको छ, जसले सञ्चित कोषमा भार नपर्ने बताइएको छ । महानगरले सो बजेटका लागि २० अर्ब १२ करोड ६४ लाख रकम आफ्नै आन्तरिक स्रोत र बैंक मौज्दातबाट व्यवस्थापन गर्नेछ । बाँकी चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ संघीय तथा प्रदेश सरकारबाट प्राप्त ससर्त र समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट आउनेछ ।

    राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले महानगरले नयाँ करदाता पहिचान गर्ने, कारोबार स्थलमै पुगेर समन्वय गर्ने र आगामी पुस मसान्तसम्म कर तिर्नेहरूलाई छुट दिने नीति ल्याएको छ । साथै बहाल करलाई एकद्वार प्रणालीमा ल्याउन संघीय सरकारसँग सहकार्य गरिनेछ ।

    नीति तथा कार्यक्रम

    महानगरले १७औं नगरसभाबाट नीति तथा कार्यक्रम पनि ल्याएको छ । मेयर बालेन्द्र शाहका अनुसार काठमाडौंलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित र स्मार्ट शहरको रूपमा विकास गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, गुणस्तरीय सेवा, सांस्कृतिक संरक्षण र दिगो शहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

    चालू वर्षमा अधुरा रहेका योजना निरन्तरता पाइनेछन् भने रणनीतिक र क्षेत्रगत नीति तर्जुमा पनि सम्पन्न गरिनेछ ।

    नीतिमा ‘एक वडा, एक उत्पादन’ अभियानलाई अझ परिष्कृत गरी अघि बढाउने, समावेशी उद्यमशीलतालाई प्रोत्साहन गर्न इन्कुबेसन सेन्टर, बीउ पूँजी अनुदान र सहकारी सुधार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    साथै सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी, डिजिटल शिक्षा तथा उद्यमशीलता क्लब स्थापना गरिनेछ । अपाङ्गता, अटिजम वा फरक क्षमताका विद्यार्थीहरूका लागि विशेष शिक्षण केन्द्र स्थापना र आवश्यक पूर्वाधार निर्माण गर्ने लक्ष्य महानगरको रहेको छ ।


    images

    Logo