काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा कामदार पठाउनका लागि गृहकार्य अघि बढाएको छ । सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ पारित गरेपछि विभागले इजरायलमा कामदार पठाउनका लागि आवश्यक तयारी थालेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
‘परीक्षाको लागि पाठ्यक्रम बनाउन शिक्षा मन्त्रालयका उपसचिवको संयोजनमा उपसमिति बनेको छ भने अनलाइन परीक्षाको लागि सफ्टवेयर तयार पार्न भेन्डरसँग छलफल भइसकेको छ,’ उनले भने । शुक्रबारसम्म भेन्डरसँग सम्झौता गर्न सकियो भने निषेधाज्ञापछि लगत्तै काम अगाडि बढ्छ ।
पहिला विभागको प्रदेशमा रहेका कार्यालयबाट परीक्षाका लागि आवेदन लिने भनिएपनि कोरोना महामारी भयावह बन्दै गएपछि अनलाइनबाटै आवेदन लिनुपर्ने अवस्था आएको हो ।
यस्तै परिस्थिति रहने हो भने परीक्षा पनि अनलाइनबाट लिनुपर्ने हुन सक्ने महानिर्देशक दवाडीले बताए । जेठ १३ गतेसम्म यी पाठ्यक्रम बनाउने र सफ्टवेयरको काम सक्न पाए अनि अन्य प्रक्रिया अघि बढाउने उनले बताए । ‘अहिले कोरोना महामारी भएकोले माग पनि आएको छैन,’ माग आउने वित्तिकै कामदार पठाउनको लागि तयारी गरिरहेका छौं ।’
शुल्कको विषयमा भने हामीले रोजगारदाताले नै खर्च गर्ने भनिएको छ,’ उनले थपे ‘नमानेमा कामदार आफैले पनि खर्च गर्नुपर्ने हुन सक्छ । जी टू जी भएकाले शुल्कका विषयमा यति नै लाग्छ भन्न सक्ने अवस्था अहिले छैन ।’ यदि रोजगार दाताले उक्त रकम व्यहोर्न चाहेन भने कामदार स्वयमले भिषा र टिकटको शुल्क भने राख्नुपर्ने हुन सक्छ ।’
यस्ता छन् निर्देशिकाले गरेको व्यवस्था
अब ‘केयरगिभर’ का लागि इजरायल जाँदा नेपाली श्रमिकले मासिक १ लाख ७५ हजार (१५ सय अमेरिकी डलर) सहजै कमाउन सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकाले गरेको व्यवस्थाअनुसार नेपालबाट इजरायल जाने कामदारले मासिक न्यूनतम पौन २ लाखभन्दा बढी कमाउने भएका हुन् ।
सन् २०१५ मा नेपालबाट इजरायलमा कामदार पठाउने सम्बन्धमा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन् । नेपाल–इजरायलबीच गत असोज श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो । निर्देशिका पारित भएपछि अब नेपाली कामदार इजरायल जान पाउने भएका हुन् ।
निर्देशिकामा उल्लेख गरे अनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमानेकोे अवस्थामा श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।
निर्देशिका पारित भएसँगै करिब ५वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ । पहिलो चरणमा ५ सय जना नेपाली इजरायल जान पाउनेछन् । कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुने छ ।
सरकार टू सरकार (जीटूजी) मार्फत कामदार इजरायल पठाउनका लागि कामदारको योग्यता पनि तोकेको छ । इजरायलमा जानका लागि नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्नेछ भने प्लस टू पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएकाले यो अवसर पाउनेछन् ।
यसका साथै १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउने व्यवस्था निर्देशिकाले गरेको छ । इजरायल जानका लागि हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्नेछ । इजरायल जान चाहने कामदारको ४.९ फिट र ४५ केजी तौल भएको हुनुपर्नेछ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्रै छनोटमा पर्ने छन् ।
निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान नपाउने व्यवस्था गरेको छ ।


