काठमाडौं । गण्डकी प्रदेशमा चालु वर्षको साउन १८ गतेसम्म झण्डै ८९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार कुल ८८.९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ पूरा भइसकेको हो ।
सबैभन्दा बढी रोपाइँ बागलुङमा ९६.८१ प्रतिशत भएको छ । त्यहाँ अनुमानित ५,७०७ हेक्टरमध्ये ५,५२५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यता नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भने सबैभन्दा कम ७९.२७ प्रतिशत रोपाइँ मात्रै भएको छ, जहाँ १८,७२० हेक्टर क्षेत्रफलमध्ये १४,८४० हेक्टरमा रोपाइँ भएको छ ।
गोरखा: ८४.४७% (१०,१४० हेक्टरमध्ये ८,५६५ हेक्टर)
लमजुङ: ९५.२८% (९,२९९ हेक्टरमध्ये ८,८६० हेक्टर)
तनहुँ: ९१% (८,७२० हेक्टरमध्ये ७,९३५ हेक्टर)
कास्की: ९५% (१६,२२० हेक्टरमध्ये १५,४०९ हेक्टर)
पर्वत: ९०% (७,१८० हेक्टरमध्ये ६,४६२ हेक्टर)
स्याङ्जा: ८८.४९% (१४,३९० हेक्टरमध्ये १२,७३४ हेक्टर)
म्याग्दी: ९१.०१% (३,८०६ हेक्टरमध्ये ३,४६४ हेक्टर)
गण्डकी प्रदेशमा ११ जिल्लामध्ये ९ जिल्लामा मात्रै धानखेती हुन्छ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने धानखेती नहुने कृषि निर्देशनालयले जनाएको छ । यीनै ९ जिल्लामा करिब ४,७९,६१७ हेक्टर खेतीयोग्य जमिन रहेको भए पनि यस वर्ष ९४,१८२ हेक्टरमा मात्रै धान रोपाइँ हुने अनुमान गरिएको छ । गत वर्ष यो क्षेत्रफल ९६,०५३ हेक्टर थियो ।


