images
images

शिकागोमाथि ‘युद्ध’ चेतावनी, ट्रम्पको कारबाही धम्की


  • 298
    SHARES
  • २०८२ भाद्र २२ गते आइतबार

    शिकागोमाथि ‘युद्ध’ चेतावनी, ट्रम्पको कारबाही धम्की
    वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शिकागोमा आफ्नो नयाँ नामकरण गरिएको ‘डिपार्टमेन्ट अफ वार’ (युद्ध मन्त्रालय) लागू गर्ने धम्की दिएका छन्। डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी सहरहरूमा सेना तैनाथ गर्ने उनको दबाबका कारण तनाव झन् बढेको छ ।
     
    यो कदम वासिङ्टनमा भएको अपरेसनको पुनरावृत्ति जस्तै हो, जहाँ ट्रम्पले नेसनल गार्ड सेना तैनाथ गरेका थिए र सङ्घीय एजेन्टहरूको सङ्ख्या बढाएका थिए । यसलाई लिएर शनिबार राजधानीमा नयाँ विरोध प्रदर्शन भई हजारौँ मानिस सडकमा ओर्लिएका थिए ।
     
    “शिकागोले छिट्टै थाहा पाउनेछ कि यसलाई युद्ध मन्त्रालय किन भनिन्छ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखे ।
     
    “संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले अमेरिकी सहरसँग युद्ध गर्ने धम्की दिनुभएको छ । यो सामान्य होइन, यो मजाक पनि होइन”, इलिनोइसका डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकरले उक्त पोस्टप्रति आक्रोश प्रकट गर्दै भन्नुभयो, “इलिनोइस कुनै तानाशाहबाट डराउने छैन ।”
     
    ट्रम्पको पोस्टमा उनको स्पष्ट एआई–निर्मित छवि र उद्धरण समावेश थियो, “मलाई बिहान निर्वासनको गन्ध मन पर्छ ।” यसले सन् १९७९ को भियतनाम युद्ध फिल्म ‘एपोक्यालिप्स नाउ’ को सन्दर्भ दिन्छ । उक्त फिल्ममा लेफ्टिनेन्ट कर्नल बिल किल्गोरले अमेरिकी सेनाले भियतनाममा अत्यधिक ज्वलनशील नापाम हतियार प्रयोग गर्दा ‘नापामको गन्ध मन पर्छ’ भनेका थिए ।
     
    उनासी वर्षीय रिपब्लिकन ट्रम्पले अगस्टको अन्त्यदेखि नै शिकागोविरुद्ध धम्की दिँदै आउनुभएको छ । शनिबार शिकागोमा ‘यो फासीवादी शासन रोक’ भन्ने प्लेकार्डसहित विरोध प्रदर्शन भयो । प्रदर्शनकारीहरूले ‘ट्रम्प होइन, कुनै सेना छैन’ भन्ने नारासहित ट्रम्प टावर अगाडि असभ्य हावभाव पनि प्रदर्शन गरेका थिए ।
     
    त्यसै दिन वासिङ्टनमा हजारौँको सहभागितामा भएको विरोध मार्चले ‘कब्जा अन्त्य’ को माग गरेको थियो । प्रदर्शनकारीहरूले उल्टो अमेरिकी झण्डा बोकेका थिए । यो परम्परागत रूपमा राष्ट्र अस्तित्व सङ्कटमा परेको प्रतीक हो ।
     
    ट्रम्पले पहिलो पटक जुन महिनामा लस एन्जलसमा सेना र सङ्घीय एजेन्ट तैनाथ गर्नुभएको थियो । त्यसपछि वासिङ्टन र अन्य सहरहरूमा विस्तार गरिएको यो कदम कानूनी चुनौती र तीव्र आलोचनाको विषय बनेको छ । आलोचकहरूले यसलाई बल प्रयोगद्वारा अधिनायकवादी प्रदर्शन भनेका छन् ।
     
    लस एन्जलसका स्थानीय अधिकारीहरूले पनि आइसिई एजेन्टहरूको हिंसात्मक रणनीति विरुद्ध आवाज उठाएका थिए । ती एजेन्टहरूले प्रायः मास्क लगाएर, अचिह्नित कार प्रयोग गरेर र बिना कारण वा वारेन्ट मानिसहरूलाई सडकमै पक्रने गर्थे ।
     
    शिकागोसहित ट्रम्पले डेमोक्रेटिक नेतृत्वका अन्य सहर—बाल्टिमोर र न्युअर्लिन्समा पनि यस किसिमको कारबाही गर्ने चेतावनी दिएका छन् ।
     
    शुक्रबार उनले रक्षा मन्त्रालयको नाम आधिकारिक रूपमा युद्ध मन्त्रालयमा परिवर्तन गर्ने आदेशमा हस्ताक्षर गरे । “यसले विश्वलाई विजयको सन्देश दिनेछ”, उनले भने ।
     
    पेन्टागन प्रमुख पिट हेग्सेथले यस कदमलाई स्वागत गर्दै अमेरिकाले आफ्नो लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने र आवश्यकता परे हिंसा प्रयोग गर्ने सङ्केत दिएका छन् ।


    images

    Logo