images
images

जुम्लामा रेडक्रसको सक्रियताः विपद् जोखिम न्यूनीकरणदेखि जलवायु अनुकूलनसम्म (भिडियोसहित)


  • 216
    SHARES
  • २०८२ पौष १ गते मंगलबार

    जुम्लामा रेडक्रसको सक्रियताः विपद् जोखिम न्यूनीकरणदेखि जलवायु अनुकूलनसम्म (भिडियोसहित)

    जुम्ला । हिमालीभूगोल, अपूरा संरचना र बदलिँदो जलवायुका कारण जुम्ला विगत केही वर्षयता लगातार नयाँ–नयाँ जोखिमको सामनागर्दै आएको जिल्ला हो । यहाँ आगलागी, पहिरो, हिमपात, हावा–हुरीजस्ता घटनाहरू एकाएक बढेका छन् भने चरन क्षेत्रहरूमा पानीको अभाव र वातावरणीय क्षयले स्थानीयको दैनिक जीवन प्रभावित बनाएको छ ।

    यही चुनौतीबीच पछिल्ला महिनामा नेपाल रेडक्रस सोसाइटीले जुम्लामा गरेका कामले समुदायमा सकारात्मक संदेश प्रवाह गरिरहेका छन् । स्वीस रेडक्रसको सहयोगमा सञ्चालित सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना अहिले भौतिक संरचना निर्माणदेखि सामुदायिक चेतना र क्षमता विकाससम्मका क्षेत्रमा उल्लेखनीय मोडेल बनिरहेका छन् ।

    खलंगा बजारको साँघुरो गल्लीमा—एक फायर हाइड्रेन्टले जोगाएको जीवन
    चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गाबजार बिहान–बेलुका दैनन्दिन गहमागहमीले गुञ्जिरहने स्थान हो । तर यस बजारको एउटा स्थायी डर छ |  दमकल छिर्न नसक्ने साँघुरो चोक र घना बजार ।

    यही ठाउँमा केही समयअघि एक मोबाइल पसलबाट आगलागी सुरु भयो । धुवाँ फैलिँदै जाँदा वरपरका पसलहरूको सनकावल र जनतामा त्रास फैलियो । दमकल पुग्न सम्भव थिएन, आगो फैलिँदै थियो | परिस्थिति डरलाग्दो बन्न थालेको थियो ।

    तर चोकभन्दा केही पर रेडक्रसले जडान गरेको ‘फायर हाइड्रेन्ट’ त्यतिबेलासम्म समुदायकालागि ठूलो मूल्य बोकेको संरचना बन्न सक्नेछ भन्ने कसैले खासै कल्पना गरेको थिएन ।

    स्वयंसेवक र सुरक्षाकर्मीहरूले हतारमा ड्राइराइजर जडान गरेर पानी छाडेपछि आगो क्रमशः नियन्त्रणमा आयो । स्थानीय व्यापारी अकबरनाथ क्षेत्री अझै पनि त्यो दृश्य सम्झँदै अचम्म मान्छन् । “हाइड्रेन्ट नभएको भए बजार जलेर सकिन्थ्यो । जसरी आगो फैलिँदै थियो, त्यो दृश्यले सबैलाई डराएको थियो ।”

    नगरपालिकाकी उपप्रमुख रामदेवी खड्का यो संरचनालाई “बजारका लागि जीवन रक्षक” समान ठान्छिन् । उनी भन्छिन्, “खलङ्गा अत्यन्त संवेदनशील क्षेत्र हो । हाइड्रेन्ट दमकल जस्तै कामलाग्ने उपकरण सावित भयो ।”

    रेडक्रसले वडा २, ३ र ५ मा आगलागी उच्च जोखिम का कारण हाइड्रेन्ट पाइपलाइन विस्तार गरेको हो । यसकालागि स्थानीय स्वयंसेवकलाई सीप, तालिम र आपतकालीन अभ्यास समेत गराइएको छ ।

    नेपाल रेडक्रसका स्वयंसेवक लालबहादुर भण्डारी आपत्कालीन विपद् प्रतिकार्यकाबारेमा समुदायलाई जानकारी दिएको बताउँछन् । भण्डारीका अनुसार यस्ता ‘फायर हाइडे«न्ट’लाई कसरी उपयोग गर्ने भन्ने कुरा स्वयंसेवक मार्फत समुदायलाई जानकारी समेत गराइएको छ ।

    फायर हाइड्रेन्ट केवल भौतिक संरचनामात्र होइन, दुर्गम क्षेत्रकालागि वैकल्पिक दमकलको अवधारणा भएको स्थानीय नेतृत्व बताउँछ ।

    घामडाँडामा जडान गरिएको आधुनिक साइरन प्रणाली, सूचना अब केही मिनेटमा नै

    विपद् रोक्न सकिँदैन, तर जोखिम घटाउन सकिन्छ । यही सोचले चन्दननाथ–६, घामडाँडामा एउटा नयाँ संरचना उभिएको छ । अत्याधुनिक चेतावनी साइरन प्रणाली ।

    २०८१ भदौ २१ मा सञ्चालनमा आएको यो प्रणालीले आगलागी, पहिरो, हावाहुरी वा अन्य आकस्मिक घटनामा समुदायलाई तुरुन्तै सूचित गर्ने काम गरिरहेको छ ।

    हालै मात्र खलङ्गा बजारमा लागेको आगलागीको समयमा यही साइरनले हजारौँ मानिसलाई “सावधान : जोखिम” को संकेत दियो ।

    नगरपालिकाका सूचना अधिकारी विकल्प बुढा थापा प्रणालीको प्रभावकारिता बारे भन्छन् , “पहिले आगलागीहुँदा सूचना फैलिनै ढिलो हुन्थ्यो । अब एक मिनेटमै हजारौँले थाहा पाउँछन् । सचेतना नै सुरक्षाको पहिलो तह हो ।”

    नगरपालिका अहिले सूचना प्रणालीलाई डिजिटल गर्दै मोबाइल एसएमएस, एप, स्थानीय सञ्चार माध्यम र सामुदायिक सूचना प्रवाह संयन्त्रलाई एकसाथ चलाइरहेको छ ।

    परियोजना संयोजक ईश्वरा सुवेदीको विचारमा, “घामडाँडामा स्थापित यो मोडेल हिमाली क्षेत्रमा चेतावनी प्रणाली कसरी प्रभावकारी हुन्छ भन्ने उदाहरण हो ।”

    नेपाल रेडक्रसका निर्देशक मोना अर्याल बताउँछिन् , “काठमाडौंबाट परीक्षण गरिएको मोडेल जुम्लामा विस्तार भएको छ । सिकाइ–साझेदारी हाम्रो मूलनीति नै हो ।”

    यसरी, जुम्लामा जोखिमबारे सूचना अब बिस्तारै होइन, सेकेन्डमै पुग्न थालेको छ ।

    चेहेरे पाटनको रिचार्ज पोखरी : जलवायु परिवर्तनसँग लड्ने ग्रामीण मोडेल
    जुम्ला बजारदेखि माथि उक्लिँदै जाँदा भेटिन्छ चेहेरे पाटन । पहिले पानी, घाँसपात, जडीबुटी र चौपायाको आवाजले भरिने यो चरन क्षेत्र पछिल्ला वर्षहरूमा हिउँ कम पर्ने, माटो सुख्खिने र पानीका मुहानहरू सुकेर जाने—जलवायु संकटको नमूना स्थल बनेको छ ।

    पानीको अभावले चौपाया चराउन कठिन हुन थालेपछि स्थानीय समुदायले रेडक्रसलाई गुहार्यो । परियोजनाले वातावरणीय सीमसार क्षेत्रलाई संरक्षण गर्दै दुईवटा रिचार्ज पोखरी निर्माण गरिदियो ।

    पोखरी उदेघाटनको दिन भेडापालक किसान जङ्गबहादुर खत्री निकै भावुक थिए । चट्याङ लागेर ५२ भेडा गुमाएका उनले कठिनाइको बीचमा पनि आशा नमरेको बताए । भन्छन्, “पहिले पानी खोज्दै घण्टौँ हिँड्नु पथ्र्यो । अब पाटनमै पानी छ । चौपाया सजिलै चराउन पाइन्छ । जङ्गली जनावर पनि पानी खान आउन थालेका छन् ।” उनकालागि यो पोखरी साधारण संरचना होइन, “ग्रामीण जलवायु अनुकूलन” को जीवन्त उदाहरण हो ।

    नगरपालिकाकी उपप्रमुख खड्काले भनेझैँ “जहाँ विपद्, त्यहाँ रेडक्रस । अहिले यो पोखरी समुदायको आत्मबल बनेको छ ।” वडाध्यक्ष राजन खत्री यसले स्थानीयलाई जलवायु उत्थानशील बनाएको बताउँछन् ।

    परियोजना संयोजक इश्वरा सुवेदीका अनुसार “जुम्लामा बनेको यो पोखरी जलवायु अनुकूलनका स्थानीय मोडेल मध्ये उत्कृष्ट उदाहरण हो ।”

    जुम्लामा रेडक्रसका यी तीन कदम : हाइड्रेन्ट, साइरन र रिचार्ज पोखरी | जुम्लामातीन फरक तर समान महत्वका क्षेत्रमा चेतना, क्षमता र आत्मविश्वास बढाएको छ । समुदायले अब विपद् देख्दा मात्र प्रतिक्रिया गर्दैन, पहिले नै तयारी पनि गर्छ ।

    स्वयंसेवकहरूको संख्या बढेको छ । नगरपालिकाको जोखिम विवरण सुधारिएको छ । स्थानीय नेतृत्वले विपद् व्यवस्थापनलाई बजेट, योजना र प्राथमिकतामा राख्न थालेका छन् । विपद् न्यूनीकरण अब कागजको योजना होइन— जुम्लाको दैनिक अभ्यास बनेको छ ।

    त्यसैगरी खोला वारपार गर्न गाहे थियो । रातचरी सुत्न डर थियो । रेडक्रसले तटबन्धन बनाइदिएपछि रातभरी चिन्ता नलिइ बस्न पाइएको छ । बखतबहादुर कार्की यसैभन्छन् । उनी मात्रै होइन, यस गाउँका सबैको भनाई बखतबहादुरको जस्तै छ । 

    फायर हाइड्रेन्टले बजार जोगायो । साइरनले समुदायलाई सतर्क बनायो । रिचार्ज पोखरीले ग्रामीण जीवनमा पानी र आशा दुवै फर्कायो । यी संरचना जति साना देखिएपनि जुम्लाको सुरक्षा यात्राका विशाल आधारशिला हुन् ।

    नेपाल रेडक्रसको सक्रियता यहाँको जनजीवनमा प्रत्यक्ष परिवर्तन ल्याउँदै जुम्लालाई अझ सुरक्षित, सुदृढ र भविष्यमुखी समुदाय बनाउने दिशामा उभिँदै गएकोमा संका गर्ने ठाउँ छैन । 


    पेशल आचार्य
    आचार्य नेपालअर्थ डटकमका अध्यक्ष हुन् ।


    images

    Logo