images
images

चाँगु क्षेत्रका होमस्टे : आँगनलाई संसारसँग जोड्ने सपना


  • 337
    SHARES
  • २०८२ पौष २५ गते शुक्रबार

    चाँगु क्षेत्रका होमस्टे : आँगनलाई संसारसँग जोड्ने सपना

    नगरकोट—जहाँ हिउँले ढाकिएका हिमश्रृंखलाहरूबिहानको घाममा झल्किन्छन् । ओसिला पातहरूमा सुनौलोपन टल्किन्छन् । हिमालको काखमा बसेको यो भूमिमा धेरै अघिदेखि पर्यटकहरूको कुनै कमि थिएन । बिडम्बना चाहिँ के थियो भने तिनीहरुसडकमा ओहोर–दोहोर त गर्थे तर गाउँ पस्दैनथे । गाउँले हेरेको हेर्यै हुन्थे ।
     
    तर, आज ती गाउँहरूका कथा फेरिएका छन् । पाहुना पुगेपछि खादा ओढाइन्छ, अक्षता लगाइन्छ,शिरमा शिरफूल चढाइन्छ, डम्फूको तालमा स्वागत गरिन्छ । हिजो लुगा धुने र भाँडा माझ्ने भूमिकामा सीमित भएका गाउँलेहरू आज आफ्नो घरमै पाहुना राख्छन्, आत्मविश्वासका साथ संस्कृति सुनाउँछन्, स्थानीय स्वादका परिकार पस्किन्छन् । 

    चाँगुनारायण क्षेत्रका यी होमस्टेहरू केवल बस्न पाइने ठाउँ होइनन्,नेपाली समाज र संस्कृतिको अनुभव सँगाल्ने थलोे र सामाजिक परिवर्तनको प्रस्थानविन्दु पनि हुन् । यहाँका अगुवा पुरुष–महिलाहरूले जब ‘हामी पनि सक्छौं’ भन्ने आँट गरे, तब त्यो योजनाएउटा आन्दोलन बन्यो— आर्थिक आत्मनिर्भरता, सामाजिक समावेशिता र सांस्कृतिक पुनर्जागरणको आन्दोलन ।

    यो कथा हो बास्तोला गाउँको, जहाँ पाहुना राख्न घर भत्किए पनि साहस भत्किएन।यो कथाहो लामागाउँको, जहाँ तामाङ संस्कृतिको भाका र स्वादलाई घर–घरमा सजाएर पाहुनाको स्वागत गरिन्छ । अनि, यो कथा हो, चाँगुनारायण सामुदायिक होमस्टेको, जहाँ सपना तामाङको आँखा बाटोभन्दा टाढा, भविष्यसँगगाँसिएको छ । सुडालको नेवारी होमस्टे जो आफ्नै संंस्कृती र पहिचानको भकारी भरेर बसेको छ ।  

    चाँगुनारायणका यी होमस्टेहरू अब केवल ग्रामीण पर्यटनको नमूना होइनन्, बरु त्यो परिवर्तनको ताना–बाना हुन्, जसले गाउँलाई संसारसँग जोड्ने पुल बनाइरहेका छन् । हो, चुनौती छन्– तर त्योभन्दा धेरै सम्भावना छन् । र त्यही सम्भावनाको यात्रामा निस्किएका छन् यी गाउँलेहरू, जसले अब आफ्नै शैलीमा लेखिरहेका छन् समृद्धिका कथाहरू ।

    नगरकोट सामुदायिक होमस्टेः एउटा दृढ संकल्पको यात्रा
    चाँगुनारायण नगरपालिका–६ को रमणीय बास्तोला गाउँ, जहाँ आज विदेशी पाहुनाहरूको स्वागत खादा र टीकाले गरिन्छ । यो ठाउँ यस्तो पर्यटकीय गन्तव्य हुने कल्पनासम्म गरिएको थिएन । २०६३ सालतिर सुरज बास्तोला, राजकुमार लामिछाने र जयराम बास्तोलाको नेतृत्वमा गाउँलेहरूले एउटा सानो समूह गठन गरे ।यसको उद्देश्य थियो—गाउँको विकास र यहाँको सहभागितामा आधारित पर्यटन सम्भावनाको खोजी गर्ने ।

    त्यसबेला पर्यटकहरू नगरकोट आउँथे, तर गाउँछेउको बाटैबाटो जान्थे । गाउँलेहरूको जीवनशैली, कृषि, संस्कृति आदि केहीले पनि उनीहरूलाई छुँदैनथ्यो । होटलमा मात्र बस्ने, गाउँबाट तरकारीसमेत नलैजाने । गाउँका मानिसहरू होटलमा सरसफाइ र लुगा धुने लगायतका कमसल काममा मात्र सीमित थिए ।

    यसै पृष्ठभूमिमा होमस्टे सुरू गर्ने आँट पलायो । स्याङ्जाको सिरुबारीमा आयोजित कार्यक्रम र त्यहाँ सञ्चालित होमस्टेले झन् प्रेरणा दियो ।सिरुबारीमा हिमाल छैन, बाटो राम्रो छैन, तर पर्यटक जान्छन् भने हाम्रो ठाउँमा किन आउँदैनन् ? भन्ने लाग्यो । योजनाको पहिलो पाइलास्वरुप राजनीतिक दल, पर्यटन बोर्ड, नगरकोट नाल्दुम पर्यटन समिति सबैलाई राखेर सर्वदलीय छलफलसुरु भयो ।

    त्यसबेलाको मूल चिन्ता थियो, ब्राह्मण समुदायले होमस्टे कसरी चलाउने? पाहुना राख्दा जात–पातको चलन, रक्सी निषेध, सेवा सत्कारको शैली आदि थुप्रै बाधाहरू थिए । राजकुमार लामिछाने भन्छन्, ‘तर, हामीले पुराना घरमै पाहुना राख्न सक्छौं भन्ने सोच्यौं ।’

    कपनमा भएको राष्ट्रिय कार्यशालामा सहभागी भएपछि उनीहरुमा थप आत्मविश्वास जाग्यो । त्यहीँबाट होमस्टे सञ्चालनको पहिलो कार्यविधि आयो । २०६७सालमा तयारी भयो, २०७० सालमा पहिलो पाहुना राख्न सकिने अवस्थामा पुगियो ।त्यतिबेला १३ घरले मापदण्ड पूरा गरेका थिए। तर, २०७२ को भूकम्पले घरहरू भत्किए ।त्यो बेला साहारा नै बने पाहुनाहरू । वर्षभरी बसेका विदेशी पाहुनाहरूले आर्थिक सहयोग गरे र पुनःनिर्माण भयो, बाँस्तोला गाउँका होमस्टेको । 

    पुनःनिर्माणपछि नयाँ जोस
    घरमा थप कोठाहरू बनाइयो, कसैले दुई, कसैले चार। अहिले १० घरमा होमस्टे सञ्चालन भइरहेको छ, सात घर अझै पुनर्निर्माणको पर्खाइमा छन् । ६० पाहुनासम्म एकैपटक राख्न सक्ने क्षमता विकास भएको छ। पाहुनाको व्यवस्थापन सामूहिक रूपमा हुन्छ—पालो अनुसार, कोठाको संख्याको अनुपातमा ।

    सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तन
    होमस्टेले गाउँको अनुहारै फेरेको छ । महिलाहरू आत्मनिर्भर बनेका छन्, दलित समुदायसँगको व्यवहारमा ठूलो परिवर्तन आएको छ। पाहुनाको स्वागत–संस्कार, खाना, सरसफाइ, भौतिक पूर्वाधार सबैमा सुधार आएको छ ।

    लामिछाने भन्छन्, ‘पहिला आफ्नो घरमा अरू जातका मान्छे पस्न नदिने हजुरबाले नै अहिले दलित पाहुनालाई भान्सामा खुवाउनुभएको छ ।’ साँचो सामाजिक रूपान्तरण यही हो ।

    व्यवस्थापन र नियम
    यहाँको होमस्टेमा धुम्रपान, मद्यपान निषेधित छ । आचारसंहिता पाहुनालाई पहिले नै पठाइन्छ । सांस्कृतिक कार्यक्रम १० बजेभित्रै सक्नुपर्ने नियम छ । अपवादस्वरूप दुई घरमा भने विशेष अनुमति दिइएको छ– धुम्रपान र मद्यपानको ।
    सार्वजनिक फण्ड संकलन पनि व्यवस्थित छ । सबै आयको १० प्रतिशत सामुदायिक कोषमा जान्छ, जसको २० प्रतिशत व्यवस्थापक र सहव्यवस्थापकलाई काम गरेवापत दिइन्छ ।

    चुनौतीहरू
    बढ्दो पर्यटनले स्थानीय उत्पादनले थेग्न नसक्ने अवस्था ल्याएको छ । जनशक्ति विदेशिने प्रवृत्तिले स्थायित्वको चुनौती खडा गरिरहेको छ। मौलिक संस्कृति सिकाउने प्रयास भए पनि नयाँ पुस्ताको पलायनले निरन्तरता दिन गाह्रो भइरहेको छ ।

    चाँगु क्षेत्रका तमाम होमस्टे मध्ये नगरकोट सामुदायिक होमस्टे सबैभन्दा सफल रहेको लामिछानेको दाबी छ । त्यसैगरी निरु योगा, नगरकोट योगा, तामाङ होमस्टेहरू पनि क्रमशः विकास भइरहेको लामिछाने बताउँछन् । 

    सरकारी नीति र पहल
    संघीयताको आगमनसँगै होमस्टे नियमनको जिम्मा प्रदेश सरकारलाई दिइयो, तर कार्यविधि अझै बनिसकेको छैन । चाँगुनारायण नगरपालिकाले आफैं कार्यविधि जारी गरेर अग्रसरता लिएको छ।हाल नगरपालिकामा १६ होमस्टे दर्ता छन् । यी होमस्टेमा २ सय ५० भन्दा बढी पर्यटकले रात बिताउन सक्छन् ।

    चाँगुनारायण क्षेत्रका होमस्टेहरू केवल आवासीय सुविधाभन्दा धेरै माथि उठेर गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको माध्यम बनेका छन् । नगरकोटदेखि चाँगुनारायणसम्म फैलिएका यी होमस्टेहरूले गाउँको आँगनबाट संसारसँग सम्बन्ध गाँस्ने सपना देखेका छन् र त्यो सपना अब विस्तारै साकार बन्दै गएको छ । राजकुमार लामिछाने, सपना तामाङ र सुस्मिता लामाजस्ता अगुवाहरूको नेतृत्वमा समुदायमा नयाँ चेतना फैलिएको छ । 

    यद्यपि, स्थानीय उत्पादनको अभाव, जनशक्ति पलायन, प्रचारको कमि, पूर्वाधारको अभाव, र सरकारी नीतिको अस्पष्टताजस्ता चुनौतीहरू अझै पनि छन् । तर ती चुनौतीहरूलाई आत्मबल, एकता र स्थानीय सीपद्वारा परास्त गर्न जरुरी छ । 

    चाँगुनारायण क्षेत्रका यी होमस्टेहरू साँच्चै गाउँलेहरूको मेहनत, संस्कृतिप्रतिको माया र आत्मगौरवको ज्वलन्त उदाहरण हुन्, जसले गाउँलाई फेरि परिचय गराइरहेका छन्–आफ्नै शैलीमा, आफ्नै भाषामा ।

    सुस्मिता लामाको अनुभव : लामागाउँ होमस्टे
    सुस्मिता लामाको नेतृत्वमा सञ्चालित लामागाउँ सामुदायिक होमस्टे हाल ५ घरमा सीमित भए पनि ३० जना पाहुना राख्ने क्षमता राख्दछ। तामाङ परम्परा अनुसार पाहुनालाई दूधमा टोटेलो फूल चोबेर टीका लगाएर स्वागत गरिन्छ। खाना, खाजा, स्थानीय परिकारहरूसहितको एक दिने प्याकेज १४ सय ५० रुपैयाँमा उपलब्ध गराइन्छ । 

    चाँगुनारायण सामुदायिक होमस्टेः सपना तामाङको सपना
    दश वर्षअघि चाँगुनारायणको एक सामान्य गाउँमा विदेशी पाहुनालाई स्वागत गर्ने कल्पना मात्र थियो । न शौचालय थिए, न बाथरुम, न त खानेपानीकै सुविधा। तर होमस्टेकी उपाध्यक्ष सपना तामाङका लागि त्यो केवल परिस्थिति थियो—सम्भावनाको सुरुवातको । कृष्ण मगर यस होमस्टेका अध्यक्ष हुन् ।

    २०६७÷६८ सालतिर कोरियाको सहयोगमा आएको Beyond Nepa नामक संस्थाले गाउँको मुहार फेर्ने बीउ रोप्यो ।दश घरमा आधारभूत पूर्वाधार— शौचालय, बाथरुम र आवश्यक संरचना बनाइदियो। महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तरकारी खेती, अर्गानिक मल उत्पादन, सीप विकासजस्ता तालिम प्रदान गरियो । संस्थाले सुझाव दियो– ‘तपाईंहरूको गाउँको भौगोलिक बनावट, चाँगुनारायण मन्दिरको नजिकको उपस्थिति र मौलिक संस्कृतिका कारण यहाँ सामुदायिक होमस्टे फस्टाउँछ ।’

    यही विश्वासका साथ सपना तामाङ र उनको समुदायले पहिलोपटक घरको एउटा कोठा पाहुनाका लागि खुला गरे ।२०७२ सालको विनाशकारी भूकम्पले तिनै संरचना भत्काए पनि समुदायको मनोबल भत्केन। बाँकी रहेको साहस र साथमा बचत गरिएका उपकरणहरूकै भरमा उनीहरू पुनः उठे ।

    २०७४ सालतिर जनजातिलक्षित बजेटबाट तालिम प्राप्त गरेपछि २० घरधुरी मिलेर ७ वटा घरमा सामुदायिक होमस्टे सुरु गरियो । अहिले ९ वटा कोठा र १५ वटा बेड भएको चाँगुनारायण सामुदायिक होमस्टेमा २२–२४ जना पाहुना एकैपटक बस्न सक्छन् ।

    संस्कृति भित्रिने, संस्कार बाँडिने
    पाहुना आउँछन्– तर केवल घुम्न होइन, महशुस गर्न । तामाङ संस्कृति अनुसारको खादा, माला, टीका र डम्फूको तालमा स्वागत गरिन्छ । सामुदायिक घरमा बस्ने पाहुनालाई गाउँकै सांस्कृतिक आत्मासँग एकाकार गर्न दिइन्छ ।

    रैथाने स्वादको कथा
    सिजनअनुसारका मौलिक बाली र तिनै बालीबाट बनेका परिकार । हो, तमाङ परिकारको फराकिलो सूची छैन, तर स्थानीय स्वादको मिठासले पाहुनालाई सधैं तान्छ। अर्डर अनुसार खाना बनाइन्छ, तर मौलिकतामा कन्जुस्याइँ गरिँदैन, कोषाध्यक्ष सरिता तामाङ भन्छिन् । 

    सफलता र चुनौतीको संगम
    पहिलो वर्ष उत्साह थियो, दोस्रो वर्ष ओझेलमा पर्यो । स्थानीय पाहुना दिउँसो आउँछन्, त्यही कारण बसाइँ कम छ । विदेशी पर्यटक आजसम्म आएका छैनन्, उनीहरुको तितो अनुभव छ । समस्याहरू छन्,– बेड सानो, शौचालय नजोडिएको, खुला ठाउँको अभाव। तर यिनै सीमामा पनि उनीहरूले आफ्नो सपना थामेका छन् । 

    पर्यटनका नाममा रिसोर्ट र होटललाई मात्रै प्राथमिकता दिँदा यस्तो सामुदायिक प्रयास ओझेलमा पर्छ । प्रचार–प्रसारको अभाव, तालिमको आवश्यकता, आर्थिक कठिनाइ र सहयोगको कमिले होमस्टे धान्न कठिन हुँदै गएको पनि उनीहरुको भनाइ छ ।

    सपना अझै बाँकी नै छ....
    सपना तामाङ भन्छिन्,‘हस्पिटालिटी तालिम, अध्ययन भ्रमण, कोठा सजाउने सहयोग र सजिलो ऋण । ती आधारहरू पाइए भने चाँगुनारायण सामुदायिक होमस्टे केवल वास घर मात्र होइन, एक अनुभव बन्न सक्छन् । जहाँ पाहुनाले घर भेटाउँछ, र गाउँलेले भविष्य ।’

    चाँगुनारायण स्मारिका २०८२ बाट साभार


    पेशल आचार्य
    आचार्य नेपालअर्थ डटकमका अध्यक्ष हुन् ।


    images

    Logo