झापा । गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलबती राजवंशीले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि तथा सुशासनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीबीचको सहकार्यका कारण गाउँपालिकालाई विकासको मार्गमा अगाडि बढाउन सफल भएको उनले दाबी गरिन् ।
अध्यक्ष राजवंशीका अनुसार जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको समृद्धि र विकासलाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम अघि बढाइएको छ। जनप्रतिनिधि र कर्मचारीबीचको सकारात्मक सोच र सहकार्यले विकासका लक्ष्यहरू जनतामाझ पुर्याउन सहज भएको उनले बताइन् ।
प्रमुख-उपप्रमुख नै महिला भएको गौरीगञ्ज गाउँपालिकाले के गर्यो, के गर्दैछ ? Phulbati Rajbanshi |
स्वास्थ्य सेवामा सुधार
गाउँपालिकामा आधारभूत अस्पताललाई २४ घण्टा सञ्चालनमा ल्याइएको छ । गरिब तथा विपन्न नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहित सेवा विस्तार गरिएको छ । स्थानीयबासीले अहिले गुणस्तरीय उपचार पाउन थालेकाले सन्तुष्टि व्यक्त गरिरहेको अध्यक्ष राजवंशीले जानकारी दिइन् ।
शिक्षामा लगानी र निःशुल्क व्यवस्था
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले निरन्तर बजेट विनियोजन गरिएको उनले बताइन् ।
यससँगै स्थानीय पाठ्यक्रम लागू गरिएको छ भने सूचना–प्रविधि (आईटी) शिक्षा तथा सीपमूलक अध्ययनमा समेत लगानी गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकार र साझेदार संस्थासँग सहकार्य गर्दै घरदैलोमै सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ ।
पूर्वाधार र प्रशासनिक सुधार
गाउँपालिकाका कार्यालयहरू आफ्नै भवनबाट सञ्चालनमा ल्याइएको छ । सडक स्तरोन्नति तथा कालोपत्रे विस्तारलाई प्राथमिकता दिइएको छ । पहिले पहुँचविहीन रहेका क्षेत्रमा क्रमिक रूपमा सडक विस्तार गरिएको अध्यक्ष राजवंशीले बताइन् ।
झापा जिल्लाका स्थानीय तहहरूमध्ये पहिलो पटक जग्गा वर्गीकरण कार्य सम्पन्न गरिएको पनि उनले जानकारी दिइन् । सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन शिष्टाचार र पारदर्शितामा जोड दिइएको उनको भनाइ छ ।
कृषिमा विद्युत र उत्पादन वृद्धि
कृषि प्रधान क्षेत्र भएकाले सिँचाइका लागि कृषि विद्युत विस्तार गरिएको छ । यसले खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै किसानको उत्पादन र आम्दानीमा वृद्धि भएको गाउँपालिकाको दाबी छ। गाउँघरमा आर्थिक स्तर सुधार हुँदै पक्की घर निर्माण बढेको पनि उनले उल्लेख गरिन् ।
महिला सशक्तीकरण र सुशासन
जनचेतना कार्यक्रममार्फत महिलाहरूलाई अधिकार र नेतृत्वमा सक्रिय बनाइएको अध्यक्ष राजवंशीले बताइन् । उनका अनुसार अहिले विपन्न महिलासमेत आफ्ना समस्या राख्न सक्षम भएका छन् ।
कोशी प्रदेशमै महिला अध्यक्ष र उपाध्यक्ष रहेको एकमात्र स्थानीय तह गौरीगञ्ज भएको उल्लेख गर्दै उनले महिलाले पनि नेतृत्व र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको बताइन् ।
युवा रोजगारी र प्रविधि
युवालाई वैदेशिक रोजगारीतर्फ जानबाट रोक्न सीपमूलक तालिम, उद्यमशीलता कार्यक्रम र पूँजी सहयोग प्रदान गरिएको छ । आईटी तथा प्राविधिक शिक्षामा लगानी गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रयास भइरहेको उनले बताइन् ।
सीमा क्षेत्र र भन्सार सेवा
भारतसँग जोडिएको सीमा क्षेत्रमा सानो भन्सार सञ्चालनका लागि गाउँपालिकाले पहल गरेको र सेवा सुचारु रहेको जानकारी दिइयो । यसले स्थानीय आर्थिक गतिविधि सहज भएको अपेक्षा गरिएको छ ।
आगामी प्राथमिकता
कार्यकाल सकिन करिब १५ महिना बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष राजवंशीले सुरु भएका योजना सम्पन्न गर्ने, मानव विकास, पूर्वाधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । आवश्यकताअनुसार नयाँ प्रविधि र योजनालाई समेत प्राथमिकतामा राखिने उनले बताइन् ।
महिला नेतृत्वबीच असहमति हुने भन्ने बाह्य भ्रमलाई अस्वीकार गर्दै उनले अध्यक्ष–उपाध्यक्षबीच राम्रो सहकार्य रहेको र काम गर्न कुनै कठिनाइ नभएको स्पष्ट पारिन् ।
अन्त्यमा अध्यक्ष राजवंशीले गौरीगञ्जबासीलाई सकारात्मक सोच, सहकार्य र इमान्दारितासाथ विकासमा साथ दिन आग्रह गर्दै गाउँपालिकालाई क्रमशः सहरउन्मुख बनाउने लक्ष्य रहेको बताइन् ।


