मानिसलाई बुझ्नु सायद संसारकै सबैभन्दा कठिन काम हो । कहिलेकाहीँ हामी कसैलाई केही भेट, केही व्यवहार र केही क्षणका आधारमा एउटा निष्कर्षमा पुर्याइदिन्छौँ । तर समयले फेरि त्यही निष्कर्षलाई उल्ट्याइदिन्छ । मेरो स्मृतिमा चाँगुनारायण नगरपालिका–५ का वडाध्यक्ष जयन्द्र खड्कासँग जोडिएको एउटा यस्तै प्रसंग छ ।
कुरो पोहोर सालको हो । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालले चाँगुनारायण नगरपालिकाको एउटा विशेष स्मारिका प्रकाशन गर्ने जिम्मेवारी पाएको थियो । त्यो कुनै सामान्य प्रकाशन थिएन । नगरपालिकाको विकास, जनप्रतिनिधिहरूको दृष्टिकोण, स्थानीय सम्भावना र राजनीतिक–सामाजिक यात्रालाई समेट्ने महत्वाकांक्षी दस्तावेज थियो । सम्पादनको जिम्मेवारी मेरो काँधमा आइपरेको थियो । जिम्मेवारीसँगै उत्साह पनि थियो ।
हामीले एउटा नयाँ ‘कन्सेप्ट’ बनायौँ– ‘हेलो वडा अध्यक्ष’ । नगरपालिकाका सबै वडा अध्यक्षलाई समान स्थान दिने, एउटै शैलीमा प्रश्न गर्ने र समान सम्मानका साथ प्रस्तुत गर्ने योजना थियो त्यो । त्यसकालागि हरेक वडा अध्यक्षलाई दुई–दुई पृष्ठ छुट्याइएको थियो । पाँच प्रश्न सबैका लागि उस्तै । कसैलाई बढी, कसैलाई कम होइन । लोकतन्त्रको सुन्दरता पनि त्यही त हो, समान व्यवहार ।
हाम्रो टिम आफैंमा अनुभवी पत्रकारहरूको जमात थियो । अध्यक्ष पेशल आचार्य, उपाध्यक्ष पुष्करराज बुढाथोकी, सचिव हेमराज खड्का र कोषाध्यक्ष लिला श्रेष्ठ ‘ज्योति’– भक्तपुरको पत्रकारिता क्षेत्रमा परिचित नामहरू । वर्षौंको पत्रकारिताले उनीहरूलाई केवल परिपक्व मात्र बनाएको थिएन, सम्बन्ध निर्माण गर्ने अद्भुत क्षमता पनि दिएको थियो । हामीलाई लागेको थियो, सबै वडा अध्यक्षसँग सहजै भेट हुनेछ ।
र वास्तवमै त्यस्तै भयो । अधिकांश वडा अध्यक्षहरूले सहज समय दिए । व्यस्तताका बाबजुद सम्मानपूर्वक भेटे । हामीले अलि कठिन होला भनेर अनुमान गरेका वडा नं. ९ का अध्यक्ष गणेश त्यातलेसमेत हामीले भनेकै समय र स्थानमा आएर अन्तर्वार्ता दिए ।
तर, एउटा नाम भने हाम्रो सम्पर्कको घेराभन्दा परै रह्यो– ५ नं वडाका अध्यक्ष जयन्द्र खड्का ।
सुरुमा उहाँले फोन उठाउनुभएन । ‘उहाँ फोन उठाउनुहुन्न’ भन्ने कुरा हामीले सुनेका पनि थियौँ । पछि कहिलेकाहीँ फोन उठे पनि कुरा टार्ने शैली देखिन्थ्यो । आज होइन, भोलि । भोलि होइन, अर्को हप्ता । अर्को महिना ...आदि ।
हाम्रो टोलीले निकै प्रयास गर्यो । बोलिचालीको भाषामा भन्दा, न्वारानदेखिको बल लगायौँ । अध्यक्ष पेशल आचार्य र उपाध्यक्ष पुष्करराज बुढाथोकीले त झन् विशेष पहल गर्नुभयो । नगर प्रमुखका स्वकीय सचिव गोकर्णजीलाई पनि गुहारियो । उहाँ र जयन्द्र खड्का एउटै वडाका भएकाले सहज होला भन्ने लाग्थ्यो । तर त्यो बाटो पनि खुल्न सकेन ।
समय बित्दै गयो । स्मारिकाको डिजाइन तयार हुँदै गयो । तर वडा नं. ५ को पृष्ठ खालीजस्तै थियो ।
त्यहीबीच नगरपालिकाको एउटा कार्यक्रममा उहाँसँग हाम्रो जम्काभेट भयो । हामीले सबै कुरा खुलस्त राख्यौँ । उहाँले पनि मुस्कुराउँदै, ‘हुन्छ, भेटौँला’ भन्नुभयो । तर त्यो दिन उहाँ ट्र्याकसुटमा हुनुहुन्थ्यो । ‘यसमा फोटो राम्रो हुँदैन’ भन्दै फोटो खिचाउन अस्वीकार गर्नुभयो । हामीले भोलिपल्ट भेट्ने सहमति गर्यौँ । उहाँले अन्तर्वार्ता दिने आश्वासन पनि दिनुभयो ।
तर भोलिपल्टदेखि फेरि उहाँ हामीबाट टाढा हुनुभयो । फोन उठेन । सन्देशको जवाफ आएन ।
हामीले अन्तिम प्रयासस्वरूप प्रश्नहरू गोकर्णजीमार्फत पठायौँ । ‘जवाफ पठाइदिनुस्’ भनेर अनुरोध पनि ग¥यौँ । तर त्यो पनि के हुने हो, टुंगो लागेन ।
स्मारिकाको काम धेरै दिन रोकियो । हामी अझै आशावादी थियौँ–सायद आज आउला, भोलि आउला । तर त्यो दिन कहिल्यै आएन । अन्ततः हामीले ‘हेलो वडा अध्यक्ष’ शीर्षकअन्तर्गत वडा नं. ५ बाहेक सबै अध्यक्षको सामग्री राख्यौँ र जयन्द्र खड्काको अन्तर्वार्ता विनानै स्मारिका प्रकाशित ग¥यौँ ।
त्यतिबेला मेरो मनमा एउटा प्रश्न गडेर बस्यो–आखिर किन ?
नगरपालिकाकै आधिकारिक स्मारिकामा आफ्नो विचार राख्न उहाँ किन इच्छुक हुनुभएन ? हामीलाई किन ‘इग्नोर’ गरियो ? अझ अचम्म के भने, राजनीतिक विचारका हिसाबले नगर नेतृत्व, हाम्रो संस्थाका अध्यक्ष–उपाध्यक्ष र उहाँबीच कुनै दूरी थिएन । सम्बन्ध बिग्रिने कारण पनि थिएन ।
तर जीवनले सबै उत्तर तत्काल दिँदैन । केही उत्तर समयले बोकेर ल्याउँछ ।
यसपटक राष्ट्रिय सञ्चार केन्द्रले चाँगुनारायणका वडाहरूमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने अनुमति पायो । कार्यक्रम तालिका बनाउँदै गर्दा मेरो मनमा अचानक पोहोरको घटना झस्किएर आयो । वडा नं. ५ को कार्यक्रम कसरी होला ? वडा अध्यक्ष नै असहयोगी भए भने ?
मनभित्र अनगिन्ती शंका थिए ।
तर आश्चर्य ! यसपटक त उहाँ पहिलो भेटमै ‘कन्भिन्स’ हुनुभयो । कार्यक्रमको समय, स्थान र सहभागिताबारे कुरा गर्न जाँदा कुनै झन्झट भएन ।
त्योभन्दा ठूलो आश्चर्य भने सार्वजनिक सुनुवाइको दिन मैले देखेँ ।
हामी कार्यक्रमस्थल पुग्दा निर्धारित समयभन्दा अलि अघि नै थियो । वडा कार्यालयको सिँढी उक्लिँदै गर्दा पछाडिपट्टि रंगीचंगी टेन्ट देखियो । सुरुमा त हामीलाई कसैको बिहे–भोजको कार्यक्रम होला भन्ने लाग्यो ।
हातमा ब्यानर र कार्यक्रम सामग्री बोकेर पुगेका हामीलाई सुरक्षाकर्मीले त्यहीँ देखाउँदै भने— ‘कार्यक्रम उतै हो ।’
हामी केही क्षण एक–अर्काको अनुहार हेरेर अचम्मित भयौँ ।
कार्यक्रमस्थल त हामी पुग्नुअघि नै बेहुलीझैँ सिंगारिएको रहेछ । कुर्सीहरू मिलाएर राखिएका, मञ्च व्यवस्थित, वातावरण आकर्षक । र त्यहीँ, सबैको स्वागतमा उभिएका थिए– वडा अध्यक्ष जयन्द्र खड्का ।
कलेजी रंगको सुट, घाँटीमा टाई, अनुहारमा आत्मीय मुस्कान । उनी वडा अध्यक्षभन्दा कुनै विश्वविद्यालयका प्राध्यापकजस्ता देखिन्थे । आकर्षक ‘पर्सनालिटी’ ।
उनी कार्यक्रम सुरु हुनुभन्दा धेरैअघि नै आएर सबै व्यवस्थापन हेरिरहेका रहेछन् । आउने प्रत्येक अतिथिलाई हार्दिक स्वागत गरिरहेका थिए । हामी आयोजकप्रति त झन् विशेष आत्मीयता देखाइरहेका थिए ।



मभित्र भने पोहोर सालको त्यो अधुरो अन्तर्वार्ता घुमिरहेकै थियो ।
कार्यक्रम सुरु भयो ।
उनको प्रस्तुति आश्चर्यजनक रूपमा विनम्र थियो । बोलाइमा नरमपन, व्यवहारमा आत्मीयता र अभिव्यक्तिमा आत्मविश्वास । मन्तव्य राख्ने बेला त उनी अझ खुलेर प्रस्तुत भए ।
‘वडावासी भगवान हुन्, म त पुजारी मात्रै हुँ,’ उनले भने ।
त्यो वाक्यसँगै उनले बारम्बार शिर झुकाएर जनतालाई नमन गरे । दुई कार्यकालदेखि वडा नेतृत्व गरिरहेका उनले आफू सधैं जनताकै बीचमा रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसदिन मैले एउटा फरक जयन्द्र खड्का देखेँ ।
सार्वजनिक सुनुवाइमा उनले छालिङको विकास यात्राबारे विस्तारमा बोले । भक्तपुरकै ठूलो भौगोलिक क्षेत्रफल भएको वडा, सीमित बजेट, तर बढ्दो जनअपेक्षा । दुई करोड बजेटमा ७२ किलोमिटर सडक सञ्जाल सम्हाल्नुपर्ने कठिनाइ उनले खुलेर सुनाए ।
तर कठिनाइसँगै उपलब्धिहरू पनि थिए ।
गोरेटो बाटो फराकिला सडकमा बदलिँदै थिए । कमलविनायक–नगरकोट, तेलकोट–गोरखनाथ, खरिपाटी–मनकामना हुँदै वडा कार्यालय जोड्ने सडक १२ मिटर फराकिलो बनाउने योजना अघि बढिरहेको थियो ।
खानेपानीका लागि एक करोड २४ लाखको बृहत् आयोजना सुरु गरिएको रहेछ । ११ वटा डिप बोरिङ सम्पन्न भइसकेका थिए ।
महिला उद्यमशीलता, युवालक्षित कार्यक्रम, बालमैत्री अभियान, ज्येष्ठ नागरिकका लागि मनोसामाजिक परामर्श, उनका योजनाहरू कागजमा सीमित जस्ता लागेनन्, व्यवहारमै अनुदीत लाग्थे ।
छालिङ, जसलाई कुनै समय भक्तपुरको ‘कर्णाली’ भनेर हेरिन्थ्यो, विस्तारै सेमी–सहरमा बदलिँदै रहेछ । फराकिला सडक, पूर्वाधार र बदलिँदो जीवनशैलीले त्यसको अनुहार फेरिँदै थियो ।
त्यसदिन कार्यक्रमभरि उनलाई हेर्दा मेरो मनमा एउटै कुरा आइरह्यो– ‘सायद पोहोर हामीले गलत बुझेका थियौँ कि !’
मानिस कहिलेकाहीँ सार्वजनिक रूपमा जस्तो देखिन्छ, निजी रूपमा त्यस्तो नहुन सक्छ । र निजी रूपमा जस्तो देखिन्छ, सार्वजनिक जिम्मेवारीमा त्योभन्दा बिल्कुल फरक हुन सक्छ ।
जयन्द्र खड्काको त्यो दिनको विनम्रता, तयारी, निडरता र जनताप्रतिको आत्मीयता देख्दा मलाई लाग्यो, उनी त्यसै दुई पटक निर्वाचित भएका रहेनछन् ।
राजनीतिमा लोकप्रियता केवल भाषणले आउँदैन । जनताको आँखामा भरोसा जगाउनुपर्छ ।
त्यसदिन छालिङको रंगीन टेन्टमुनि उभिएर मैले एउटा फरक सत्य बुझें– कहिलेकाहीँ मानिस बदलिँदैन, बदलिन्छ त उसलाई हेर्ने हाम्रो दृष्टि ।


दिवस गुरागाईं
