काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउदै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्व कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाले इजिप्टलाई ३(२ ले पराजित गर्यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएपनि लियोनल मेस्सी चुक्दा बराबरी गर्न सकेन ।
दोस्रो हाफको ६६ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गर्दै नतिजा २(० को स्थितिमा ल्याए । खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २(० ले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे ।
८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए ।
क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बियाबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।


