चितवन । कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ ।
यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन् ।
विगतका वर्षहरुमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पु¥याउँदै आएका थिए । तर अहिले त्यस्तो छैन । कारागारमा विगत १३ वर्षदेखि बन्दी जीवन बिताउँदै आउनुभएका विकास प्रर्जा (परिवर्तीत नाम) अहिले मुढाको माग घट्दा समस्या भएको बताउछन् । उनले भने, “पहिलेको तुलनामा मुढाको माघ घट्दै गएको छ ।” बन्दी जीवन बिताउँदै गर्दा मानसिक र शारीरिक रुपमा आफूलाई व्यस्त राख्नका लागि मुढा बुन्ने गरेको भए पनि अहिले मुढाको माग घटेको उनले बताए । विगतमा सीमित कारागारमा यस्ता तालिमहरु हुने र उत्पादन गर्ने गरेको भए पनि अहिले हरेक कारागारमा सीपमूलक तालिम नहुने र उत्पादन पनि धेरैतिर हुँदा माग घटेको उनले बताए। उनका अनुसार पहिलेको तुलनामा अहिले माग घटेपछि ५० प्रतिशत उत्पादन घटेको छ । उनले थपे, “चार्डपर्वको समयमा केही माग बढ्छ की भन्ने आशामा छौँ ।”
यस कारागारमा विगतमा मुढा बुनेर आफ्नो गुजारा चलाउने बन्दीको सङ्ख्या २०० हाराहारी हुने भए पनि अहिले यो घटेर ७५ मा झरेको छ । माग बढ्न नसक्दा कामदारको सङ्ख्या पनि घटेको उनले बताए। कारागारभित्रै आफ्नो कम्पनीमा पहिला ४०÷४५ जना बन्दीहरुले काम गर्ने गरेको भए पनि अहिले १८ जना मात्रै रहेको उनले बताए । लामो समय बन्दी जीवन बिताउनु पर्नेहरुले मुढासँगै गलैँचा बनाउने काम समेत गर्दै आएका छन् । कतिपय मुढा बन्ने बन्दीहरु गलैँचा बुन्न गएको उनले बताए ।
पछिल्ला वर्षहरुमा प्लाष्टिकका कुसी र मुढाको प्रचलन वढेपछि बाँसका मुढाको माग घटेको उनले बताए। पहिला महिनामा ५०० हाराहारी मुढा उत्पादन हुने गरेको यस कारागारमा अहिले ३०० हाराहारी मात्रै मुढा उत्पादन हुँदै आएको छ । स्पेसल र स्थानीय गरी दुई प्रकारका मुढा बनाइने यहाँ अहिले स्थानीय मात्रै बनाईदै आईएको छ ।
बन्दी जीवन बिताउँदै आउनुभएका रामु प्रर्जा ९परिवर्तित नाम० अहिले गलैचा बन्ने काम गर्दै आएका छन् । विगतका वर्षको तुलनामा पछिल्ला केही वर्ष गलैँचाको माग कम भएपछि पहिलेको जस्तो व्यापार हुन छाडेको उनले बताए । गलैँचा बुन्नका लागि साइजअनुसार समय लाग्ने र स्क्वायर फिटका हिसाबले पैसा लिने गरेका बन्दीहरु गलैँचा किन्ने ग्राहक नआउँदा काम गर्ने जाँगर हट्दै गएको उनले बताए । उनले भने, “दिनभरि काम गर्दा अन्य कुरामा ध्यान जाने थिएन अहिले फुर्सद हुँदा समस्या भएको छ ।” यस पेसामा ६५ जना बन्दीहरु आबद्ध रहेका छन् । आफ्नो कामअनुसारको कमाइ हुने भए पनि व्यस्त रहन पाउँदा निकै रमाइलो हुने गरेको उनले सुनाए । मासिक १५ देखि १८ वटा गलैँचा उत्पादन हुँदै आएकोमा अहिले यो सङ्ख्या पनि घटेको छ ।
कारागार कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गाना यहाँ रहेका बन्दीहरु हाँसी खुसी आय आर्जनका काम गर्दै आएको बताउछन् । उनले भने, “अहिले माग घट्दा केही निरासा भने बन्दीमा छाएको छ ।” राम्रो बजार हुँदा मासिक रु १५ हजारसम्म यहाँका कैदीबन्दीले कमाउने गरेका थिए । अहिले मुस्किलले पाँच हजार कमाउने गरेको उनले बताए । यहाँ उत्पादित सामग्रीहरु काठमाडौँसहित छिमेकी जिल्ला र स्थानीय बजारमा बिक्री हुने गरेको उनले जानकारी दिए । अहिले यस कारागारमा ४० जना महिला र ६८ जना पुरुष कैदी बन्दी रहेका छन् । यहाँ महिलातर्फ ३० र पुरुषतर्फ ५७० जना कैदीबन्दी राख्ने क्षमता रहेको छ ।


