काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। भारतमा रहँदै अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्ससँगको अन्तर्वार्तामा उनले आफू एक्लै नभई अवामी लिगका धेरै वरिष्ठ नेतासमेत कानुनी प्रक्रियामा सहभागी हुन बंगलादेश फर्किने बताएकी हुन्।
हसिनाले अवामी लिगका नेता तथा कार्यकर्तामाथि निरन्तर मुद्दा दर्ता भइरहेको र धेरैजना लुकेर बस्न बाध्य भएको दाबी गरिन्। उनले स्वदेश फर्किने तयारीबारे सरकारसँग कुनै किसिमको वार्ता नभएको स्पष्ट पार्दै लोकतन्त्र, निर्वाचन, राजनीतिक अधिकार र न्यायजस्ता विषयमा गोप्य सहमति हुन नसक्ने बताइन्।
बंगलादेश सरकारले आफूलाई भारतबाट फिर्ता पठाउन पटक–पटक अनुरोध गरिरहेको दाबी गर्दै हसिनाले आफूलाई कसैले फर्काइरहनु नपर्ने र आफैं स्वदेश फर्किने बताइन्। यद्यपि, यसबारे बंगलादेश सरकार र भारतले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
सन् २०२४ मा सरकारविरोधी विद्यार्थी आन्दोलनपछि हसिना भारत गएकी थिइन्। आन्दोलन दमनसँग सम्बन्धित मुद्दामा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको भए पनि उनले उक्त फैसला अस्वीकार गर्दै आएकी छन्। जेल जान आफूलाई डर नभएको उल्लेख गर्दै लामो समय शासन गर्ने कुनै पनि सरकारबाट कमजोरी हुन सक्ने र त्यसको अन्तिम मूल्यांकन अदालतभन्दा जनताले गर्ने धारणा उनले व्यक्त गरिन्।
यसैबीच, चार दिनअघि राजधानी ढाकानजिक सावरमा हसिना विरोधी र्यालीका क्रममा भएको बम विस्फोटमा तीन जना घाइते भएका छन्। उक्त कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका वरिष्ठ नेता तथा विद्यार्थी आन्दोलनका अगुवा नाहिद इस्लामलगायतका नेताहरू सहभागी थिए। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।
उता बंगलादेश सरकारले भने हसिनालाई स्वदेश फर्काएर अदालतमा उपस्थित गराउने प्रयास जारी रहेको जनाएको छ। विदेश राज्यमन्त्री शमा ओबैद इस्लामका अनुसार प्रत्यर्पणका लागि कूटनीतिक पहल भइरहेको छ र अन्तर्राष्ट्रिय कानुनअनुसार प्रक्रिया अघि बढेकाले यसमा केही समय लाग्नु स्वाभाविक रहेको बताएकी छन्।


