काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी तथा उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा महानगरले नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरिने उल्लेख गरिएको छ।
महानगरले गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त निष्कर्ष र सिफारिसका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ।
यस्ता दुःखद घटना भविष्यमा दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय गर्दै प्रभावकारी उपायहरू कार्यान्वयन गर्न महानगर सधैँ तयार रहेको जनाउँदै समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक सहकार्य गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।



