भक्तपुर । प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी शुरु गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब तीन लाख भक्तजन आउँने अनुमान गरिएको छ । स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । अन्य दिनमा समेत पाँच सयदेखि एक हजारको हाराहारीमा दर्शनार्थी आउँने अनुमान गरिएको अध्यक्ष बस्नतेले बताए ।
मेलाबाट करिव एक करोड रुपैयाँ संकलन हुने अनुमान समितिले गरेको छ । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए ।
मेलाका अवारमा स्वास्थ्य शिविरसमेत आयोजना गरिने बताउँदै वडाअध्यक्ष बस्नेतले मेलालाई व्यवस्थित र शुरक्षित बनाउँन सिसीटिभीसमेत जडान गरिएको जानकारी दिए । केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटक आउँनु त्यस्को ज्वलन्त उदाहरण भएको बताए ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार, मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने भएको छ । डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको छ ।
श्रावणी मेला २०८३ सभ्य एवं भव्य रुपमा सम्पन्न गर्नका लागि डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, सूर्यविनायक नगरपालिका ८ नम्बर वडा कार्यालय र डोलेश्वर प्रहरी प्रभागसंगको सहकार्यमा वजार व्यवस्थापन र सडकमा थुपारिएका सामग्री एवं टहरा हटाउने अभियान शुरु गरिएको छ । त्यसका लागि ३ दिने सार्वजनिक सूचना एवं माइकिङ सहित प्रचारप्रसार गर्ने कार्य सम्पन्न भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।



