images
images

बाढी–पहिरोले दुई राजमार्ग पूर्ण अवरुद्ध, बीपी राजमार्गमा सवारी सञ्चालन रोक


  • 155
    SHARES
  • २०८३ आषाढ २७ गते शनिबार

    बाढी–पहिरोले दुई राजमार्ग पूर्ण अवरुद्ध, बीपी राजमार्गमा सवारी सञ्चालन रोक

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ ।

    प्रहरीका अनुसार कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिका–९ फल्लेघरमा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडकखण्ड पनि ठप्प बनेको छ ।

    बागमती प्रदेशअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको उच्च जोखिम देखिएकाले बीपी राजमार्गमा अर्को सूचना नभएसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

    यता, केही सडकखण्डमा आंशिक रूपमा यातायात सञ्चालन सुरु भएको छ। भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ पाउदीस्थित कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएका छन् । भोजपुरमा वैकल्पिक मार्गको व्यवस्था समेत गरिएको प्रहरीले जनाएको छ ।

    यसैबीच, पहिरो पन्छाएपछि मकवानपुरको बकैया गाउँपालिका–११ घडेपाखा र भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको कालिकोटस्थित शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो हटाइएपछि कर्णाली राजमार्ग पनि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।


    images

    Logo