काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुँगरे क्षेत्रमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित १२ जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ जाँदै गरेको सेच ००१२६४४ नम्बरको जीप केदारस्युँ–७ र दुर्गाथली–६ को सिमानास्थित सुँगरेमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो। जीपमा १६ देखि १७ जना सवार रहेको प्रारम्भिक जानकारी छ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का ६० वर्षीय चक्र महत, सोही स्थानकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ गाउँपालिका–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतले जानकारी दिए।
दुर्घटनामा चालक देवबहादुर धामीसहित झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र अर्का रामबहादुर महत गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उद्धार स्थानीयवासीले गरिरहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत बाहिर लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले प्रहरी टोली घटनास्थलतर्फ परिचालित भइसकेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


