काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भू–भागका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
प्राधिकरणका अनुसार लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ। विशेषगरी रातिको समयमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
बढ्दो जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ अति जोखिमयुक्त जिल्लामा रात्रिकालीन सवारी आवागमन रोकिएको छ। रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। आवश्यक परे परिस्थितिअनुसार थप क्षेत्रमा पनि सवारी सञ्चालन रोक्न सकिने प्राधिकरणले जनाएको छ।
विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ। सम्भावित सडक अवरोध हटाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर र लोडरलगायतका हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। साथै, नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दै मौसमसम्बन्धी अद्यावधिक सूचना आधिकारिक माध्यमबाट नियमित रूपमा हेर्न आग्रह गरेको छ।



