images
images

महाराजगञ्जमा इभी माइक्रो अनियन्त्रित हुँदा चालकको मृत्यु, ६ घाइते


  • 171
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    महाराजगञ्जमा इभी माइक्रो अनियन्त्रित हुँदा चालकको मृत्यु, ६ घाइते

    काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार साँझ भएको सवारी दुर्घटनामा इभी (विद्युतीय) माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। दुर्घटनामा १० वटा सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साँझ करिब ७:१५ बजे बसुन्धरा चोकबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको इभी माइक्रो तीव्र गतिमा अनियन्त्रित भई अगाडि गुडिरहेका विभिन्न सवारी साधनलाई पछाडिबाट ठक्कर दिएको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका माइक्रो चालक लमजुङको सिङ्दी गाउँपालिका–५ घर भई हाल कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा राति ८:१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

    दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको त्रिवि शिक्षण अस्पताल र एक जनाको मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा इभी स्कुटी चालक सरोज ढुङ्गाना र उनकी श्रीमती विनिता ढकाल, मोटरसाइकल चालक सूर्य मगर र पछाडि सवार ज्ञानबहादुर सुनुवार, बसका यात्रु गणेशबहादुर शाही तथा ट्याक्सीमा सवार पूर्ण गिरी रहेका छन्। प्रहरीका अनुसार पूर्ण गिरीको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य छ।

    दुर्घटनामा माइक्रो बससहित दुई ट्याक्सी, दुई मोटरसाइकल, इभी स्कुटी, यात्रुवाहक बस, विद्युत् कार्यालयको बस, अर्को इभी माइक्रो लगायत गरी १० वटा सवारी साधनमा क्षति पुगेको छ। ठक्कर दिने माइक्रोको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


    images

    Logo