images
images

राप्रपाका तीन मन्त्रीसँग १२ घण्टे स्पष्टीकरण माग


  • 184
    SHARES
  • २०८३ भाद्र ६ गते शनिबार

    राप्रपाका तीन मन्त्रीसँग १२ घण्टे स्पष्टीकरण माग

    काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय तथा निर्देशनविपरीत प्रदेश सरकारमा सहभागी भएर मन्त्री पदको शपथ लिएको भन्दै समितिले उनीहरूलाई १२ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

    राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट र उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिसँग स्पष्टीकरण मागिएको हो।

    प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको विषयमा तीनै मन्त्रीसँग स्पष्टीकरण मागिएको जानकारी दिएका छन्।

    यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको आधिकारिक निर्णयबिना आफ्नै निजी लेटरप्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको थियो। समितिले थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न सिफारिससमेत गरिसकेको छ।

    थापामाथिको कारबाहीबारे जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लंघन गरी तीन प्रदेशसभा सदस्य सरकारमा सहभागी भएको निष्कर्षसहित उनीहरूमाथि समेत अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको प्रवक्ता श्रेष्ठले बताएका छन्।

    राप्रपाको केन्द्रीय नेतृत्वले यसअघि बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने तथा सरकारको समर्थन वा विरोधमा कुनै पक्षमा नलाग्ने निर्णय गरेको दाबी गर्दै आएको थियो। तर, प्रदेश संसदीय दलका नेता थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन जनाएपछि पार्टीभित्र विवाद चर्किएको थियो।

    विवादकै बीच एमालेका किरण थापामगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री थापामगर नेतृत्वको सरकारमा राप्रपाका तीन प्रदेशसभा सदस्य मन्त्री बनेपछि पार्टीभित्रको विवाद थप गहिरिएको छ।

    अब तीन मन्त्रीले १२ घण्टाभित्र दिने स्पष्टीकरणका आधारमा राप्रपाले उनीहरूमाथि थप कारबाही गर्ने वा नगर्ने निर्णय गर्ने देखिएको छ।


    images
    images

    Logo