भक्तपुर । नेतृत्व क्षमता विकास र जिम्मेवार नेतृत्वको अवधारणामा केन्द्रित ‘लिडरसिप कन्फ्रेन्स २०२६’ सम्पन्न भएको छ । हार्टस् फर नेपाल फाउण्डेशनको आयोजनामा भक्तपुरस्थित जर्मन होम्स होटलमा सम्पन्न सम्मेलनमा युवा व्यवसायी, उद्यमी, नेतृत्वकर्ता तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
एकदिने सम्मेलनमा अन्तर्राष्ट्रिय नेतृत्वकर्ता तथा व्यवसायी डेनिस कमिन्सले प्रमुख वक्ताका रूपमा सहभागीहरूलाई नेतृत्वका व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए । उनले नेतृत्व पद वा लोकप्रियताभन्दा बढी जिम्मेवारी, अनुशासन, निर्णय क्षमता र जवाफदेहितासँग सम्बन्धित विषय भएको बताए ।
कार्यक्रममा नेतृत्व विकास, चुनौतीपूर्ण परिस्थितिमा निर्णय लिने क्षमता, संस्थागत व्यवस्थापन र जिम्मेवारीपूर्ण नेतृत्वका विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो । पछिल्लो समय तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता प्रविधिलाई व्यवसाय, संस्था र सेवाको क्षेत्रमा कसरी प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ भन्ने विषयसमेत सम्मेलनको छलफलमा समेटिएको थियो ।
सम्मेलनकै अवसरमा कमिन्सद्वारा लिखित ‘बिल्ट ओर ब्रोकन’ (Built or Broken) पुस्तक विमोचन गरिएको छ । पुस्तकमा नेतृत्वले संस्था, समुदाय र समाजमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको लेखक कमिन्सले बताए । उनले सही नेतृत्वले संस्था र समाजलाई निर्माणको दिशामा अगाडि बढाउने, तर गलत नेतृत्वले कमजोर र विघटित अवस्थासमेत सिर्जना गर्न सक्ने धारणा राखे । नेतृत्वमा रहेका व्यक्तिले आफ्नो निर्णय र व्यवहारले समाजमा पार्ने प्रभावबारे निरन्तर आत्ममूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सहभागीहरूले विभिन्न क्षेत्रका नेतृत्वकर्तासँग अनुभव आदानप्रदान गर्दै आफूले सामना गरिरहेका चुनौती र सम्भावित समाधानबारे छलफल गरेका थिए । सहभागीहरूले सम्मेलनबाट नयाँ ज्ञान, सीप र प्रेरणा प्राप्त भएको बताएका छन् ।आयोजकका अनुसार सम्मेलनमा तीन सयभन्दा बढीको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्दै जिम्मेवार, अनुशासित र प्रभावकारी नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।



