images
images

सूर्यविनायक–८ बाट रसुवाका बाढीपीडितका लागि ७ गाडी राहत सामग्री


  • 456
    SHARES
  • २०८३ भाद्र १८ गते बिहीबार

    सूर्यविनायक–८ बाट रसुवाका बाढीपीडितका लागि ७ गाडी राहत सामग्री

    भक्तपुर । सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री वितरण गरिएको छ। सूर्यविनायक नगरपालिका–८ र वडा नं. ५ का स्थानीयबाट संकलित राहत सामग्री सातवटा गाडीमा राखेर रसुवाका बाढी प्रभावित क्षेत्रमा पुर्‍याइएको हो ।

    वडा अध्यक्ष बस्नेतका अनुसार १४ गते स्थानीयवासीबाट राहत सामग्री संकलन गरिएको थियो । संकलित सामग्रीमध्ये सूर्यविनायक वडा नं. ८ बाट चार गाडी र वडा नं. ५ बाट तीन गाडी गरी सात गाडी राहत सामग्री १५ गते बिहान रसुवातर्फ पठाइएको थियो ।

    suryabinayak rahat 1.jpeg

    बाढी तथा पहिरोका कारण सडकहरू क्षतिग्रस्त र जोखिमपूर्ण बनेका कारण राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भएको थियो । जोखिमपूर्ण सडक तथा भत्किएका संरचनाका बीच टोलीले १६ गते साँझ उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माध्यमिक विद्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको बस्नेतले बताएका छन् ।

    suryabinayak rahat 2.jpeg

    टोलीले नीलकण्ठ माध्यमिक विद्यालयसँगै गौतम बुद्ध माध्यमिक विद्यालय, जनकल्याण आधारभूत विद्यालय, सूर्योदय प्राथमिक विद्यालय, ज्वालामुखी आधारभूत विद्यालय र दुक्तेश्वरी आधारभूत विद्यालयमा पुगेर बाढीपीडितका लागि आवश्यक सामग्री वितरण गरेको थियो ।

    राहत संकलन तथा वितरण अभियानमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको वडा अध्यक्ष बस्नेतले बताएका छन् । उनले विपद्को समयमा आफ्नो गाँस काटेर सहयोग गर्ने सूर्यविनायक–५ र ८ का स्थानीयवासीप्रति आभार व्यक्त गरेका छन् ।

    suryabinayak rahat 3.jpeg

    राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सहयोग गर्ने चालक तथा अभियानमा संलग्न सहयात्रीहरूलाई पनि उनले धन्यवाद दिएका छन् । जोखिमपूर्ण सडकमा समेत राहत सामग्री लिएर प्रभावित क्षेत्रसम्म पुग्न चालकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।

    बस्नेतले राहत अभियानमा समन्वय तथा सहयोग गर्ने बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलगायत सम्पूर्ण सहयोगीप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।

    suryabinayak rahat 4.jpeg

    उनका अनुसार विपद्को समयमा स्थानीयस्तरबाट संकलित राहत प्रभावित नागरिकसम्म प्रत्यक्ष रूपमा पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो । राहत सामग्री प्राप्त गरेपछि प्रभावित परिवार तथा स्थानीयवासीमा देखिएको आशा र राहतको भावनाले अभियानमा संलग्न सबैको थकान मेटिएको बस्नेतले बताएका छन् ।

    suryabinayak rahat 5.jpeg


    images
    images

    Logo