images
images

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन


  • 570
    SHARES
  • २०८३ भाद्र १८ गते बिहीबार

    भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । बाढीमा परी चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म एक हजार २०४ जनाको मृत्यु भएको छ भने ३०१ जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट फेला परेका शवमध्ये ९५ जनाको सनाखत भई परिवारजनले बुझेका छन् ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएका छन् । तीमध्ये नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरीका चार हजार २०३ जना खोज तथा उद्धारमा खटिएका छन् ।

    सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेका छन् । सडक तथा भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय स्थानमा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ ।

    चितवनमा सबैभन्दा धेरै शव

    प्राधिकरणका अनुसार हालसम्म चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

    बाढीपछि ठूलो सङ्ख्यामा नागरिक सम्पर्कविहीन भएपछि खोजी कार्यलाई तीव्र बनाइएको छ । सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना छन् । यस्तै भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    नुवाकोटबाट एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना पनि सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

    सेनाबाट चार हजारभन्दा बढीको हवाई उद्धार

    विपद्का कारण सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा नेपाली सेनाले हवाई उद्धारलाई प्राथमिकता दिएको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।

    खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ । बुधबार मात्रै ८० वटा हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग भइरहेको छ ।

    तीन हजार ४५३ नागरिक होल्डिङ सेन्टरमा

    बाढीका कारण घरबारविहीन भएका तीन हजार ४५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका छन् ।

    प्रभावित नागरिकका लागि सरकारले खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्यलाई निरन्तरता दिएको छ । सडक सम्पर्कविच्छेद भएका स्थानमा हवाई माध्यमबाट राहत सामग्री पुर्‍याउने तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

    बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकाय, स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी निकाय उद्धार, खोजी तथा राहत वितरणमा सक्रिय छन् । हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।


    images
    images

    Logo