images
images

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा, सात जिल्लामा प्रतियोगिता हुने


  • 311
    SHARES
  • २०८३ मंसिर ५ गते शनिबार

    दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा, सात जिल्लामा प्रतियोगिता हुने

    काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार सबैभन्दा बढी २३ खेल सुर्खेतमा आयोजना हुनेछन् ।

    प्रतियोगिताका खेल कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा सञ्चालन गरिनेछ । सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, बक्सिङ, ह्यान्डबल, बास्केटबल, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस्, सेपाकताक्रो लगायत २३ खेल हुनेछन् ।

    यी खेल वीरेन्द्रनगरस्थित मुख्य रङ्गशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा आयोजना गरिने राखेपले जनाएको छ ।

    त्यस्तै, बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ, बर्दियामा टेनिस र खो–खो, सल्यानको श्रीनगरमा कुस्ती र जुडो, दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ ।

    राखेपका अनुसार प्राविधिक कारणले आवश्यक परे प्रतियोगिताका खेलस्थल परिवर्तन गर्न सकिनेछ ।

    आगामी मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । मङ्सिर २७ गते समापन हुने प्रतियोगिताका केही खेल भने उद्घाटनअघि नै सुरु हुनेछन् । मङ्सिर ८ गतेदेखि भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिसलगायत १० खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन् ।

    प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगिताका ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।

    यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।


    images
    images

    Logo