काठमाडौं । आयकर संकलनमा उत्साहको बाबजुद संघीय सरकारको फागुन महिनाको आन्तरिक राजश्व लक्ष्य पूरा हुन सकेन । आन्तरिक राजश्व विभागका अनुसार फागुन महिनामा २८ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो लक्ष्यभन्दा झन्डै ३५ करोड रुपैयाँ कम हो ।
आन्तरिक राजश्वमा सबैभन्दा प्रमुख योगदान दिने आयकरमा यो महिना उल्लेख्य सुधार देखिएको छ । यो अवधिमा १० अर्ब २९ करोड रुपैयाँ आयकर उठेको छ । १ अर्ब ८७ करोड रुपैयाँले बढी हो ।
अर्को महत्वपूर्ण करको रुपमा रहेको मूल्य अभिवृद्धि करबापत फागुन महिनामा ८ अर्ब ३४ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यभन्दा १ अर्ब ६४ करोड रुपैयाँ कम हो ।
अन्तशुल्कतर्फ पनि यो अवधिमा लक्ष्यभन्दा केही कम रकम संकलन भएको छ । यो अवधिमा अन्तशुल्कबापत ८ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यो झन्डै ४४ करोड रुपैयाँ कम हो ।
त्यसबाहेक शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा शुल्कतर्फ लक्ष्यभन्दा धेरै राजश्व संकलन हुँदा ब्याज आम्दानी, पुँजीगत लाभकर जस्ता आम्दानीमा यो महिना कमी आएको छ ।


