काठमाडौँ, जेठ ७ गते । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने सनराइज बैङ्कलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको सनराइज बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैङ्कलाई कोषले कारबाहीमा गरेको हो ।
उक्त बैङ्कमा कार्यरत सनाज खतिवडाको मृत्युपछि उहाँले मासिक लिँदै आएको ४२ हजार रुपियाँ पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम दाबीसहित परिवारले गएको वैशाख २० गते कोषमा उजुरी गरेका थिए । मृतक खतिवडाका पिता धु्रवकुमार खतिवडा र आमा गीता घिमिरे खतिवडाको बैङ्कमा कार्यरत रहँदै छोरीको मृत्यु भएकाले आश्रित परिवारले सुविधा पाउनुपर्ने माग थियो ।
मृतकका बुवाको जन्म २०१६ वैशाख ३१ र आमाको २०२५ जेठ ५ गते भएकाले त्यसलाई आधार मानेर नेपालको औसत आयु ७१ वर्षको आधारमा मृतक सनाज खतिवडाको आधारभूत तलब ४२ हजारको ६० प्रतिशतले एकमुष्ट हुन आउने ४३ लाख नौ हजार दुई सय र अन्तिम संस्कारबापत २५ हजार गरी कुल ४३ लाख ३४ हजार दुई सय रुपियाँ तीन महिनाभित्र उपलब्ध गराउन उक्त बैङ्कलाई निर्देशन दिएको छ ।
सामाजिक सुरक्षा ऐनमा गरिएको व्यवस्थाअनुसार मृतकलाई कोषले तोकेको अवधिभित्र सूचीकरण नगराएको हुँदा यो रकम स्वयं रोजगारदाताले नै बेहोर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम कोषले उक्त बैङ्कलाई निर्देशन दिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन निर्देशनसम्बन्धी कार्यविधिको दफा १७ मा व्यवस्था भएबमोजिम मृतकको एकाघरका आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत पाउने व्यवस्था छ । कार्यविधिको दफा १८ मा मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।
कोषका सहप्रवक्ता रोहित रेग्मीले कानुनमा भएको व्यवस्थाअनुसार ७१ वर्षलाई औसत आयु मानेर मृतकका बुवा र आमाको आयुको हिसाब गरेर त्यो बराबरको क्षतिपूर्ति रकम तय गरेको जानकारी दिनुभयो । कोषमा यस्तो प्रकारको उजुरी र कारबाही दुवै पहिलो भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा ऐन, नियमावली, कार्यविधिअनुसार सेवासुविधा दाबी गरेर आएको उजुरी पहिलो हो र कारबाही पनि पहिलो हो, सुरुवात भयो ।”


