काठमाडौं । काठमाडौं महानगरपालिका भित्र अब महँगो वा सस्तो भाडामा बस्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले घरभाडाको व्यवस्था कम्पनीमार्फत् मात्रै हुने व्यवस्था गरेसँगै अत्यधिक महँगो र अत्यधिक सस्तो भाडाको अवस्था अन्त्य हुने भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिकाभित्र घरभाडा लिनेदिने व्यवस्था छुट्टै कम्पनीमार्फत् गर्ने घोषणा गरेका थिए ।
बुधबार बसेको दोस्रो बैठकमा यो व्यवस्थाबारे थप प्रष्ट पार्दै उनले वैज्ञानिक रुपमा भाडादर निर्धारण गर्ने र भाडामा दिने वा लिने दुवैलाई मर्का नपर्ने किसिमले काम गर्न यस्तो कम्पनीको परिकल्पना गरिएको बताए ।
अहिले महँगोमा बहाल लिने तर कर प्रयोजनको लागि सस्तोमा सम्झौता गर्ने प्रवृत्ति छ । यसलाई हटाउन महानगरपालिकाले न्यूनतम भाडादर निर्धारण गरे पनि त्यो वैज्ञानिक हुन सकेको छैन । काठमाडाैंमा अहिले घरबहाल लगाउँदा घरधनी नै हावी हुने गरेका छन् । नयाँ व्यवस्थाले यसलाई समाधान गर्नसक्ने बताइन्छ ।
कस्तो हुन्छ भाडामा लगाउने कम्पनी ?
त्यसो त भाडामा लगाउने जिम्मा प्राइभेट कम्पनीलाई दिएर घरबेटी र भाडावालालाई कमिसन तिर्न बाध्य बनाउन लागेकाे भन्दै यो निर्णयको आलोचना समेत भएको छ । यसलाई प्रष्ट्याउँदै मेयर शाहले यसरी भाडामा लगाउने कम्पनी प्राइभेट नभएर महानगरपालिकाकै स्वामित्वमा हुने बताए ।
घरबहाल करको विषयमा यो कम्पनी मार्फत् भनेको प्राइभेट कम्पनी मार्फत् भनिएको होइन, त्यो कम्पनी महानगरपालिकाकै हुनेछ । यसले महानगरपालिकाकै एउटा विभाग वा निकायको रुपमा काम गर्नेछ । जसले वैज्ञानिक रुपमा कोही मर्कामा पनि नपरोस्, कोही करबाट भागेर पनि नजाओस् भन्ने उद्देश्य हो,’ मेयर शाहले भने ।


